काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको ठूलो चाड दशैँको चहलपहल सुरू भइसकेको छ । दशैं नजिकिएसँगै विभिन्न व्यापारीक केन्द्रहरूमा भीडभाड पनि सुरू भइसकेको छ ।
दशैंमा व्यापारीक केन्द्रमा मात्र नभएर विभिन्न शक्तिपीठहरूमा पनि निकै भीड लाग्ने गर्दछ । दशैं नजिकिएसँगै उपत्यकासँगै देशै भरका शक्तिपीठहरूलाई पनि रंगरोगन गरेर चिटिक्क पार्न थालिएको छ ।
दशैंको समयमा शक्तिपीठहरूमा विशेष पूजाआजा गरिने भएकाले यसै समयमा मठमन्दिरलाई सिंगारेर चिटिक्क पारिन्छ ।

रंगरोगनमा लाखौं खर्च
दशैं नजिकिएसँगै देशभरका शक्तिपीठहरूमा रंगरोगनको काम सुरू भएको छ । रंगरोगनको लागि शक्तिपीठ हेरर खर्च हुने गरेको छ । उपत्यकाको नक्साल भगवती,तलेजु भवानी, दक्षिणकाली, शोभा भगवती, मैतिदेवी ,गुहेश्वरी, भद्रकाली, बंगलामुखी लगायतका शक्तिपीठहरूमा धमाधम रंगरोगनको काम सुरू गरिएको छ ।

मैतिदेवी मन्दिरमा गएको ५ दिनदेखि रंगरोगनको काम सुरू गरिएको छ । “हामीले विगत पाँच दिनदेखि मन्दिर रंगरोगनको काम गरिरहेका छौं, रंगरोगनको काम आजबाट सकिन्छ ,भलद्धार सरसफाइमा लागेका छौ , जसको लागि अरु चार दिन समय लाग्छ,’मैतिदेवी मन्दिर क्षेत्र पबन्ध समितिका सदस्य सचिव सुरेन्द्र श्रेष्ठले चाणक्य पोष्टसँग भने ।
दाताकै भरमा चिटिक्क पारिँदै
रंगरोगन गर्न ३ जना र सरसफाइको लागि ५ गरेर कुल ८ जनाले हाल मन्दिर परिसरमा रोजगार प्राप्त गरेको श्रेष्ठले जानकारी दिए । ‘लामो समयदेखि कोरोनाको कारण लक डाउन भयो, जसले गर्दा दर्शनार्थीहरू आउन पाएन्न, मन्दिरको आर्थिक अवस्था नाजुक छ , गत वर्ष लकडाउनकै कारण रंगरोगन गरिएन, त्यो भन्दा अघिल्ला वर्षहरूमा २ लाख बराबर रकम रंगरोगनको लागि खर्च हुन्थ्यो,’ श्रेष्ठले भने ।

तर यो वर्ष रंगरोगनको लागि दाता भेटिएकाले ठूलो सहयोग पुगेको उनले बताए । ‘यो वर्ष रंगरोगको लागि दाता भेटिएका छन् कति खर्च लाग्छ जानकारी नै छैन, लागे जति दाताले नै गर्नुहुन्छ,’ उनले भने ।
यता, नक्साल स्थित नक्साल भगवती मन्दिरमा पनि रंगरोगनको लागि आर्थिक अभाव भएकाले स्वइच्छाले मन्दिरको लागि सहयोग गर्ने दाताहरू भेटिएका छन् । दाताकै सहयोगको आधारमा रंगरोगनको काम सुरू भएको छ । रंगरोगनको लागि १ लाख ५० हजार मूल्य बराबर खर्च हुने यस मन्दिरमा हाल ४० हजार मात्र संकलन भएकाले ,४० हजारकै काम सुरू भएको छ ।

“मन्दिरको आर्थिक अवस्था नाजुक छ । मन्दिर रंगरोगनको लागि १ लाख ५० हजार मूल्य बराबर रकम लाग्ने भएपनि हाल सम्म ४० हजार मात्र सहयोग दाताबाट प्राप्त भएकाले तत्काललाई ४० हजारकै काम गरिन्छ, बाँकी दाताबाट सहयोग पाएपछि गरिन्छ ।’मन्दिर व्यवस्थापक प्रकाश श्रेष्ठले जानकारी दिए ।
दशैं नजिकिएसँगै हरेक वर्ष शक्तिपीठहरूमा रंगरोगनको कार्य गरिन्छ । जसको लागि लाखौं खर्च हुने भएपनि मन्दिर व्यवस्थानको पाटो फितलो भएकाले रंगरोगनको लागि दाताहरूकै भर पर्नुपर्ने अवस्था देखिएको छ । दशैंमा शक्तिपीठहरूमा विशेष पूजा गरिने भएकाले रंगरोगनको काम यसै समयमा गरिन्छ ।



