आफूखुसी भाडा बढाउन नपाउँदा यातायात व्यवसायीले गरे बौद्ध-चाबहिल सडक अवरुद्ध (फोटोफिचर)

काठमाडौं । साँखु, थली, जोरपाटी, बौद्ध हुँदै चाबहिल रुटमा आज सार्वजनिक गाडी गुडेका छैनन् । यातायात व्ययसायीहरुले नै सडक अवरोध गरेका कारण सार्वजनिक सवारीहरु सडकमा गुड्न नसकेका हुन् ।

 

गत आइतबार (असोज १७ गते) यो रुटमा गुड्ने सार्वजनिक सवारी व्यवसायीहरुले भाडा दर बढाएका थिए । उनीहरुले सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालसँग आफंै छलफल गरी सिडियोको स्विकृती बिना भाडा बढाएका हुन् ।

 

 

सहयोगीनगर–नयाँ बानेश्वर–चाबहिल–इन्जिनियरिङ कलेज रुटका सवारीहरुले सुरुवाती भाडा दर आफुखुसी २० रुपैयाँ कायम गरेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले भाडा नबढाउन निर्देशन दिएको छ । यसैको विरोध स्वरुप भाडा आफुखुसी बढाउन नपाएको भन्दै यातायात व्यवसायीहरु सडक अवरुद्ध गर्दै विरोधमा उत्रेका हुन् ।

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले यातायात व्यवसायीले आफुखुसी भाडा दर बढाएको बताउँदै त्यसको कार्यान्वयन नगराउनका लागि यातायात व्यवसायीहरुसँग छलफल भइसकेको बताए । उनले भाडा दर बढाएर सर्वसाधारण यात्रुलाई दुख दिने काम भएको बताए । आफुखुसी गाडी भाडा दर बढाउने र बढाउन पाइएन भन्दै सडकमा गाडी निकालेर सडक अवरुद्ध गरे नियन्त्रणमा लिएर कारवाही गरिने रिजालले बताए ।

 

 

‘यातायात व्यवसायीहरुले संघसँग मिलेर आफुखुसी भाडा दर बढाएका हुन । हामीले भाडा बढाउन पाइदैंन भनेर बोलाएर छलफल गरी निर्देशन दिइसकेका छौं,’ रिजालले चाणक्यपोष्टसँग भने ‘जबरजस्ती भाडा बढाउने र सर्वसाधारणलाई दुख दिने अनी फेरी बढाउन पाइएन भनेर गाडी रोकि बाटो अवरोध गरे हामी नियन्त्रणमा लिएर कारवाही गर्ने छौं ।’

 

बौद्धरुटका सवारी चालक प्रेमबहादुर सुनुवारले चामल, तेलदेखि हरेक वस्तुको मूल्य बढिरहेको हुँदा सवारी साधनको भाडा दर समेत बढ्नु पर्ने बताए । २०७२ सालमा भाडा दर समायोजन पछि ५ वर्ष यता भाडा वृद्धि नभएको भन्दै उनले भाडा बढाउन माग गरे ।

 

 

‘तेल, चामल, तरकारी, पेट्रोल हरेक चिजको मूल्य बढेको छ तर सरकारले गाडीको भाडा बढाउन दिएको छैन । लामो रुटमा गुड्ने गाडीको भाडा बढ्यो, काठमाडौंको गाडीको भाडा बढाउनु पर्दैन ?,’ सुनुवारले चाणक्यपोष्टसँग भने ।

 

उनले बानेश्वर–चाबहिल–बौद्ध रुटमा ट्राफिक व्यवस्थापन समेत राम्रो नभएको बताउँदै ट्राफिकले जथाभावी चिट काट्ने गरेको आरोप लगाए ।

 

 

सर्वसाधारणले भने सडक अवरुद्ध पारिएका कारण सास्ती पाएका छन् । कार्यालय समयमै पुग्न ९ बजे नै बस कुर्न आएकी सृजना राई १० बजेसम्म बौद्ध गेट पारी गाडीकै पर्खाइमा थिइन । गाडी नपाएपछि हिँड्दै जाने क्रममा रहेकी उनले १ घण्टासम्म पनि गाडी नपाएपछि अफिसमा फोन गरेर हिँड्दै जान लागेको बताइन ।

 

‘खै किन हो गाडी नचलेको थाहा भएन । आएको यत्रो बेर भइसक्यो, न माइक्रो पाइन्छ, न त बस । अब हिँड्दै जाने, बाटोमै गाडी पाइयो भने चढ्ने हो,’ उनले भनिन् ।

 

यस्तै बाटोको जाममा बाइक रोकेर उभिरहेका सुरज रसाइली यस्तो जाम अरु दिनहरुमा हुने नगरेको भनेर छक्क पर्दै थिए । उनले बौद्धबाट टुसालसम्म बाइक ल्याउनै ३० मिनेट लागेको बताए ।

 

‘दायाँ बायाँ दुबै तर्फ बसहरु रोकेर राखेका छन् । अघिदेखि ३० मिनेट भयो यही बाटो पास गरेर चाबहिल पुग्न पाएको छैन,’ रसाइलीले चाणक्यपोष्टसँग भने ।

 

 

सडकमा २० वर्ष भन्दा पुराना गाडी फुक्काफाल गुड्दै, विभाग भन्छ, ‘देखाउनुस् कारवाही गर्छौं’ Read Previous

सडकमा २० वर्ष भन्दा पुराना गाडी फुक्काफाल गुड्दै, विभाग भन्छ, ‘देखाउनुस् कारवाही गर्छौं’

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक Read Next

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक