काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष पुराना सवारी सडकमा गुडाउन नपाइने व्यवस्था गरेको छ । २० वर्ष पुराना सवारीबाट धेरै प्रदुषण उत्पन्न हुने भएकाले त्यस्ता गाडी गुडाउन निषेध गरिएको हो ।
त्यसो भएतापनि निलो माइक्रो तथा टेम्पोहरु २० वर्ष पुराना भए पनि सडकमा अझै गुडिरहेको देख्न सकिन्छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुषालले सडकमा २० वर्ष पुराना कुनै गाडी नभएको बताए । उनले २० वर्ष पुराना गाडी गुडेको पाइएमा तुरुन्तै कारवाही गरिने बताए ।
‘कुन रुटमा २० वर्ष पुराना सवारी गुडेको छ हामीलाई भन्नु हामी भोली नै गएर कारवाही गर्छौं । ट्राफिक लगेर गाडी लयाएर ‘स्क्रयाप’ गर्छौं,’ भुषालले चाणक्यपोष्टसँग भने ।
काठमाडौंमा मात्र ३ सय हाराहारीमा निलो माइक्रो सञ्चालनमा रहेका छन् । ती निला माईक्रोहरु २० वर्ष पुराना सवारीमा पर्छन् । २७५ वटा निला माइक्रो बौद्ध, कलंकी र गर्जुधारामा गुड्ने गरेका छन् ।
निलो माइक्रो व्यवसायी किरण खड्का ती माइक्रोहरु एलपी ग्यास राखेर सञ्चालन हुने भएकाले तिनले धुवाँ ननिकाल्ने बताउँछन् । उनले निलो माईक्रो सञ्चालनका लागि म्याद थपको प्रकृया अघि बढाइएको बताए ।
उनले सञ्चालन अवधि बन्द तथा कोभिडका कारण २० वर्ष नपुगेको भन्दै यातायात मन्त्रालयमा म्याद थपका लागि पत्र पठाइएको बताए ।
उनले ५ वर्षदेखि १० वर्षसम्मका लागि सञ्चालन अनुमती माग गर्दै पूर्व यातायात व्यवस्था तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई पत्र हस्तान्त्रण गरेको बताए । उक्त विषयमा कुनै निर्णय नआएको उनले बताए ।
‘निलो माइक्रोले धुवाँ फाल्दैन, यो ग्यासले गुड्ने हो । हामीले बन्द र कोरोनाका कारण २० वर्ष अवधिसम्म माईक्रो गुडाउन पाएका छैनौ । त्यसैले मन्त्री वसन्त नेम्वाङको पालामा ५ वर्षदेखि १० वर्षसम्म म्याद थप गर्न पत्रचार गरेका छौं,’ खड्काले चाणक्यपोष्टसँग भने । उनले निलो माइक्रोहरु यूरो ३ अन्तर्गत नै ल्याइका कारण यो प्रदुषण विहिन रहेको बताए ।
यस्तै देशभर ७ हजार हाराहारीमा २० वर्षे पुराना सवारी सञ्चालन विहिन अवस्थामा रहेको यातायात व्यवसायी महासंघले जनाएको छ ।
२० वर्षे पुराना सवारी विद्युतमा कन्र्भजन गर्ने तयारी
साझा आयातले डिजेल तथा पेट्रोलियम सवारी विस्तारै विस्थापन हुँदै गइरहेका बेला १० वर्षे योजना सहित डिजेल सवारी ‘ट्रान्सकन्भर्जन’ गर्न लागेको छ । यसका लागि साझा यातायातले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेर डिजेल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न अध्ययन गर्ने भएको छ ।
साझा यातायातका संचालक समिति सदस्य भुषण तुलाधारले १० वर्षमा सबै विद्युतीय सवारी सञ्चालन हुने सोचका साथ कन्र्भजनको समेत अध्ययन सुरु गर्न लागेको बताए ।
उनका अनुसार सुरुमा साझाका सवारीहरुलाई आउँदो ५ वर्षभित्र डिजेलबाट विद्युतीय सवारीमा कन्र्भजन गरिने छ । अध्ययन सफल भए साझाका पुराना सवारीहरुमा अध्ययन गरि कार्यान्वयन गरिनेछ । साझाका बस विद्युतीयमा परिवर्तन गरी सफल भए अर्को १० वर्षभित्र देशका अन्य २० वर्ष पुराना सवारीहरुलाई आवश्यक परे अनुसार कन्र्भजन सर्न सकिने उनले बताए ।
‘हामी पहिला ५ वर्षभित्रमा आफै सेट हुन्छौं अनि १० वर्षभित्र देशका अन्य सवारीलाई सेट गर्ने छौं । अहिले रिसर्चको विषय मात्र हो,’ तुलाधारले भने ।