काठमाडौं । साहस ऊर्जा लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज बिहान सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलमा आइपीओ बाँडफाँट भएको हो ।
क्यापिटलका अनुसार गोलप्रथाबाट भाग्यमानी ६ लाख ४४ हजार जनाले १० कित्ताका दरले १० कित्ता सेयर हात पारेका छन् भने १८ लाख ३९ हजार ४६० जनाको हात खाली भएको छ ।
कम्पनीले असोज ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा २३ लाख ८३ हजार ४६० जनालेआवेदन दिएका थिए ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन २९ देखि आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयालाई ३५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरिसकेको छ ।
आयोजनाले हाल सोलुखुम्बुमा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र साहस ऊर्जा कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।