नयाँ नोट छाप्न वर्षेनी अर्बौं खर्च, प्रतिनोट छपाइ खर्च कति ?

काठमाडौं । दशैं नयाँ नोटको चाड पनि हो । नयाँ नोटकै लागि मानिसहरू घण्टौं घाममा लाम लोगेका हामीले देखेकै छौं । नेपाल राष्ट्र बैंकले वर्षेनी अर्बौं रुपैयाँ बराबरका नयाँ नोटहरू छाप्ने गरेको छ । हरेक वर्ष राष्ट्र बैंकले दशैं–तिहारकै अवसर पारेर नयाँ नोट वितरण गरेको हामीले देखेकै छौं ।

 

हिन्दू संस्कार अनुसार दशैं–तिहारमा टीका लगाउँदा नगद दक्षिणा दिने परम्परा रहेको छ । सोही परम्परालाई मध्येनजर गरेर राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेको छ भने त्यसैका लागि मानिसहरू लाम लाग्ने गरेका पनि छन् ।

 

मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालका अनुसार प्रतिनोट छपाइ लागत १.४० रुपैयाँदेखि ४.६८ रुपैयाँसम्म हुने गरेको छ ।

 

तर, विगत केही दशकदेखि सँस्कृतिको अंग बनेको यो नयाँ नोटको छपाइ त्यति सस्तो भने छैन । राष्ट्र बैंकले नयाँ नोट छपाइका लागि मात्र वर्षेनी करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ । केही समय अघि बैंकले लागत बढी हुने भएपछि थोरै मात्रामा नयाँ नोट छाप्न थालेको थियो ।

 

यसरी नयाँ नोट छाप्दा प्रतिनोट लागत १.४० रुपैयाँदेखि ४.६८ रुपैयाँसम्म खर्च हुने गरेको छ । नगद छपाइ कम गर्न बैंकले डिजिटल कारोेबारलाई प्राथमिकता दिएपनि प्रत्येक वर्ष नोट छपाइने क्रम भने बढ्दै गएको छ ।

 

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाल एक पटक नोट छाप्दा ३ देखि ४ वर्ष पुग्नेगरी छपाइने बताउँछन् । ‘दशैंको लागि भनेर छाप्ने होइन । हामीले एक पटक नोट छाप्दा ३ देखि ४ वर्ष पुग्नेगरी छाप्ने गरेका छौं,’ उनले भने, ‘प्रति नोट छपाइ लागत १ रुपैयाँ ४० पैसादेखि ४ रुपैयाँ ६८ पैसा सम्म खर्च हुने गरेको छ ।’

 

सरकारको बजेट, खर्च बढ्दै गएपछि बजारमा नोटको माग पनि बढ्दै जाने भएकाले छपाइ बढ्दै गएको नेपालले बताए । बैंकले २०१६ साल फागुनदेखि नयाँ नोट छपाइ सुरू गरेको थियो ।

 

छपाइ लागत बढ्दै

 

राष्ट्र बैंकले नयाँ नोट छपाइको लागि हरेक वर्ष अर्ब बढी रकम खर्च गर्दै आएको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्रै ५० करोड ८२ लाख थान नयाँ नोट छापिएको थियो । उक्त नोट छपाइको लागि मात्रै १ अर्ब ८ करोड ९६ लाख रुपैयाँ खर्च भएको थियो ।

 

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ को अवधिमा ४९ करोड थान नोटहरू छापेको थियो । जसको छपाइ खर्च ८५ करोड ३७ लाख रुपैयाँ लागत रहेको छ । आर्थिक वर्ष २०७४/७५ मा बैंकले ५० करोड ६६ लाख थान नयाँ नोट निष्कासन गरेको थियो ।

 

पछिल्लो समय १ हजार दरका नोट छाप्न प्रतिनोट ३.३७ रुपैयाँ खर्च भएको छ । यस्तै, ५०० दरको नोट छाप्न ४.६८ रुपैयाँ, १०० रुपैयाँको नोट छाप्न २.९९ रुपैयाँ, ५० रुपैयाँको छाप्न २.६७ रुपैयाँ, २० रुपैयाँको १.७३ रुपैयाँ, १० रुपैयाँको नोट छाप्न १.४० रुपैयाँ लाग्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

 

कुन नोट छाप्दा कति लाग्छ खर्च ?

 

मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालका अनुसार प्रतिनोट छपाइ लागत १.४० रुपैयाँदेखि ४.६८ रुपैयाँसम्म हुने गरेको छ । नोट छपाइको बिडिङमा हुने प्रतिस्पर्धा, नोटमा हुने सेक्युरिटी फिचर लगायत कारणले छपाइ खर्च निर्धारण हुने उनले बताए ।

 

उनका अनुसार पछिल्लो समय १ हजार दरका नोट छाप्न प्रतिनोट ३.३७ रुपैयाँ खर्च भएको छ । यस्तै, ५०० दरको नोट छाप्न ४.६८ रुपैयाँ, १०० रुपैयाँको नोट छाप्न २.९९ रुपैयाँ, ५० रुपैयाँको छाप्न २.६७ रुपैयाँ, २० रुपैयाँको १.७३ रुपैयाँ, १० रुपैयाँको नोट छाप्न १.४० रुपैयाँ लाग्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

 

‘डिजिटल कारोबारले मात्र घट्छ छपाइ’

 

नयाँ नोटको छपाइ घटाउन डिजिटल कारोबार बढाउनु पर्ने देखिन्छ । राष्ट्र बैंकले नगद नोट छपाइ घटाउका लागि डिजिटल कारोबार बढाउने नीति लिएको विभाग प्रमुख नेपाल बताउँछन् ।

 

‘डिजिटल प्रणालीको प्रयोगबारे सबैलाई जानकारी गराउने र विभिन्न ठाउँमा डिजिटल डिभाइसहरू राख्ने, क्युआर कोडको प्रयोग बढाउने राष्ट्र बैंकको नीति रहेको छ,’ उनले भने ।

 

नयाँ नोट छपाइ संख्या र खर्च कम गर्न डिजिटल रुपैयाँलाई प्रोत्साहन गर्दै जानु पर्ने उनले बताए । पछिल्ला वर्षहरूमा नयाँ नोट छपाइ बढ्दै गएको छ । बजारमा डिजिटल कारोबार नबढेसम्म नगद छपाइ बढ्दैै जाने उनको भनाइ छ । ‘जबसम्म बजारमा डिजिटल कारोबार स्थापित हुँदैन तबसम्म नगद छपाइ बढ्दैै जान्छ,’ नेपालले भने ।

 

हरेक वर्ष जलाइन्छ अर्बौंको नोट

 

राष्ट्र बैंकले नयाँ नोट वितरण मात्रै होइन पुराना, झुत्रा नोट पनि जलाउँदै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा मात्रै ४८ अर्ब ६० करोड बराबरका १९ करोड ३८ लाख थान जलाइएको बैंकको तथ्यांक रहेको छ ।

 

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ५६ अर्ब ३६ करोड बराबरका २८ करोड ४ लाख थान, आव २०७५/७६ मा ७६ अर्ब ९५ करोड बराबरका ३० करोड २३ लाख थान रुपैयाँ जलाइएको छ ।

 

पछिल्लो समय भने राष्ट्र बैंकले झुत्रा नोटलाई जलाउनुको सट्टा ब्रिकेट बनाएर बेच्न थालेको छ । जलाउँदा वातावरण प्रदूषण हुने भएकालाई त्यसलाई कम गर्न राष्ट्र बैंकले विदेशबाट उपकरण ल्याएर पुराना नोटको ब्रिकेट बनाउन थालेको हो ।

कुमारी क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्दिने, थप यस्ता सुविधैसुविधा Read Previous

कुमारी क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्दिने, थप यस्ता सुविधैसुविधा

अब मास्क नलगाए सार्वजनिक गाडी चढ्न नपाउने Read Next

अब मास्क नलगाए सार्वजनिक गाडी चढ्न नपाउने