वीरगञ्ज भन्सारले दुई महिनामै उठायो ४० अर्ब राजस्व, दैनिक८०० ट्रक सामान आयात

वीरगञ्ज । मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कुल ४० अर्ब ६५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

 

कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गतेको वितरण अनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो ।

 

कार्यालयका अनुसार चालु आवमा १ खर्ब ९८ करोड १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा हालसम्म वार्षिक लक्ष्यको २०.५ प्रतिशत लक्ष्य पूरा भएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

 

चालु आवको गत साउन र भदौ गरी दुई महिनामा २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार रुपैयाँ लक्ष्य पाएकामा करिब ५ अर्ब बढी आर्थात् ३२ अर्ब ५३ करोड राजस्व सङ्कलन भएको देखिन्छ । यो लक्ष्यभन्दा करिब १८ प्रतिशतले बढी हो ।

 

गत आव २०७७/७८ को सोही अवधिमा लक्ष्यको तुलनामा जम्मा ९५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । त्यसबेला १७ अर्ब १९ करोड ९९ लाख ६१ हजार राजस्व लक्ष्य पाएकामा १६ अर्ब ४० करोड ७० लाख ८२ हजार राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।

 

वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, सवारी साधन, एलपी ग्यास, सोयाबिन, पाम, सूर्यमुखीको कच्चा तेल, एमएस बिलेट, एचआर सिट, एचआर स्ट्रिप्स, भटमास, पोलिथिन दाना, मोबिल लुब्रिकेन्ट्स, तयारी कपडा, बस ट्रकका चेचिसलगायत सामानको आयात हुँदै आएको छ । सो नाकाबाट दैनिक करिब ८०० ट्रकमा सामान आयात हुने गरेको छ भने करिब १०० ट्रकमा सामग्री निर्यात हुने गरेको छ ।रासस

बेलायतमा धमाधम बन्द हुन थाले पेट्रोल पम्प, तेल बोक्न विदेशी ट्याङ्कर चालक ल्याइँदै Read Previous

बेलायतमा धमाधम बन्द हुन थाले पेट्रोल पम्प, तेल बोक्न विदेशी ट्याङ्कर चालक ल्याइँदै

वाग्मती प्रदेशमा गुड्ने सार्वजानिक गाडीको भाडा बढ्ने Read Next

वाग्मती प्रदेशमा गुड्ने सार्वजानिक गाडीको भाडा बढ्ने