काठमाडौं । नेपालीहरूको दशैं, तिहार जस्ता ठूला चाडपर्व नजिकिसकेका छन् । चाडपर्वमा ऋण नै गरेर भएपनि मिठो मसिनो खाने र नयाँ कपडा लगाउने नेपाली परम्परा रहँदै आएको छ ।
त्यसमाथि पनि दशैं भनेपछि राम्रो लागाउन र मिठो खान हामी भ्याएसम्म जोहो गर्ने गर्छौं । यसैबीच, बजारमा चाडपर्वलाई लक्षित गर्दै स्वदेशीसहित विदेशी चामल विक्रीमा राखिएका छन् ।
हाल विभिन्न डिपार्टमेन्ट स्टोरहरूमा विदेशी ब्राण्डका चामल सजिएका छन् भने यही चामल बनाउने लोकल मिल संचलाक पनि निकै व्यस्त भेटिन्छन् ।
दशैं नजिकिएसँगै चामल लगायतका खाद्य सामग्रीहरू विक्री गर्न भ्याइनभ्याइ भएको ज्ञानेश्वर राइस एण्ड फ्लोर मिलका संचालक निरोजनाथ पन्तले बताए । अन्य समयभन्दा चाडपर्वको मुखमा ५० प्रतिशत व्यापार बढ्ने उनले बताए ।
विगत ४० वर्षदेखि मिल संचालन गर्दै आएका पन्तको मिलमा नेपालकै विभिन्न ठाउँमा उत्पादन भएका धानबाटै चामल कुटेर विक्री हुँदै आएको छ । उनको मिलमा मात्रै दैनिक २५ बोरा हाराहारीमा (२५ र ३० किलोका बोरा) चामल विक्री हुने गरेको छ । उनको मिलमा १७५ रुपैयाँ प्रतिकेजीसम्मको चामल किन्न पाइन्छ ।
‘धेरै ग्राहक पुराना छन्, हामी मेलम्ची, त्रिशुली क्षेत्रबाट धान ल्याएर चामल बनाउँछौं, उपभोक्ताले सबैभन्दा धेरै मेलम्चीको बासमती चामल खोज्ने गर्छन्’, पन्तले चाणक्य पोष्टसँग भने ।
ज्ञानेश्वर राइस एण्ड फ्लोर मिलमा बासमती चामल प्रतिकिलो १५०, जिरा मसिनो चामल प्रतिकिलो १४०, समुन्द्र फिज प्रतिकिलो १७५, कालो नमल चामल प्रतिकिलो १८०, मेलम्ची बासमती प्रतिकिलो १७५, त्रिशुली बासमती प्रतिकिलो १५०, पोखरेली १३० र वार चामल प्रतिकिलो १०० रुपैयाँमा विक्री भइरहेको छ ।
अहिले चाडपर्वलाई लक्षित गर्दै बजारमा महँगा चामलहरू पनि विक्रीमा राखिएको छ ।
महंगा चामल
अहिले बजारमा प्रतिकिलो ४५ रुपैयाँदेखि ५०० रुपैयाँसम्मको चामल विक्री भइरहेको पाइन्छ । बजारमा पाइने सबैभन्दा कम मूल्यको अरुवा सोना मंसुली चामल हो । अरुवा सोना मंसुलीको मूल्य प्रतिकिलो ५३ रुपैयाँ रहेको छ । यसका अलावा कम्पनीको ब्राण्ड प्रयोग नभएको मोटा चामल ४५ रुपैयाँ केजीमा पनि किन्न पाइन्छ ।
त्यसैगरी, सबैभन्दा महङ्गो चामल ब्याल्क राइस हो । यसलाई विभिन्न डिपार्टमेन्ट स्टोरहरूमा खरिद गर्न सकिन्छ । यसको मूल्य प्रतिकिलोग्राम ५०० रुपैयाँ रहेको छ । त्यसैगरी नेपालमा चर्चित बनेको जुम्लाको मार्सी चामलको मूल्य प्रतिकेजी २५० रुपैयाँ रहेको छ । यो नेपालमा उत्पादन हुने सबैभन्दा महंगो चामल हो ।
त्यसैगरी, भारतीय ब्राण्ड लालकिल्ला, दावत, कोहीनुर, प्राइड इन्डिया, फर्चुयुन, रोयल, मिठास, इन्डिया गेट, रिस्ता, रोजाना जस्ता ब्राण्डका १५० देखि ३०० रुपैयाँ केजीसम्म मूल्य पर्ने चामल बजारमा उपलब्ध रहेका छन् ।
नेपालमा चामल उत्पादन गर्ने ज्ञान, हुलास, थकाली, कृष्णभोग, ऊर्जा, परी, मोहित, बेञ्जन, हरपल जस्ता ब्राण्डले चामल उत्पादन र विक्री वितरण गर्दै आएका छन् ।
सरकारी सहुलियत पसलमा सस्ता चामल
सरकारले चाडपर्व लक्षित सुरू गरेको सहुलियत पसलमा प्रतिकिलो ५ रुपैयाँ छुट सहित चामलको कारोबार भइरहेको छ । सहुलियत पसलमा किलोमा ५ रुपैयाँ छुट सहित ब्राउन चामल प्रतिकिलो ५५ रुपैयाँ, अरुवा मकवानपुर चामल प्रतिकिलो ४५ रुपैयाँ, अरुवा सोना मंसुली चामल प्रतिकिलो ४८ रुपैयाँमा किन्न सकिन्छ ।