नेप्सेमा भीषण पहिरो, सूचक ७ महिना अघिकै विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । यससाता आइतबारदेखि उच्च अंकले घट्न थालेको बजार ३ दिनमै २०५ बढी अंकले घटेको हो ।

 

आइतबार एकैदिन ६२ अंकले घटेको बजार सोमबार ७३ अंकले घटेको थियो भने ७० अंकले घटेको छ । लगातार घटेसँगै नेप्से ७ महिना अघिकै विन्दु अर्थात् २६०० हाराहारीम आइपुगेको छ ।गत चैत १७ गते नेप्से २६१९ विन्दुमा थियो ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरे यता घट्न थालेको बजार अझै रोकिएको छैन । राष्ट्र बैंकले एउटा बैंकबाट ४ करोड र अन्यबाट गरी कुल १२ करोड बढी कर्जा लिन नपाइने व्यवस्था गरेपछि ठूला लगानीकर्ता प्रभावित हुँदा समग्र बजारनै ओरालो लागेको हो ।

 

साथै, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भई बैंकको ब्याजदर बबढ्नाले पनि सेयर बजारमा प्रभाव परेको देखिन्छ ।

 

मंगलबार सेयर बजार मापक सूचक नेप्से ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा आइपुगेको छ । यसदिन २१८ कम्पनीको ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार ८२९ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.३७ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ४.७४, विकास बैंक र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्टीलरी १७ करोड र नेशनल हाइड्रो १५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

उच्च अंकले घटेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन पावर र नेशनल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

 

यसैगरी, गोर्खा फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्टका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् । यस्तै, शिवश्री हाइड्रो र समृद्धि फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, कुमारी बैंक, आइसीएफसी फाइनान्ससहित १ दर्जन कम्पनीको मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

अब ट्रायल पास हुने बित्तिकै लाइसेन्स Read Previous

अब ट्रायल पास हुने बित्तिकै लाइसेन्स

बजारमा पाइन्छ ४५ देखि ५०० रुपैयाँ केजीको चामल, भारतीय ब्राण्डको दबदबा Read Next

बजारमा पाइन्छ ४५ देखि ५०० रुपैयाँ केजीको चामल, भारतीय ब्राण्डको दबदबा