हिमाली क्षेत्रमा घरघरमा बन्ने ‘कोदोको रक्सी’ वेलायतमा व्यावसायिक उत्पादन

काठमाडौं । नेपालका जनजातिहरूले परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सीको बेलायतमा ब्राण्डिङ गरिएको छ । विशेषगरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पा लगायत जनजातीहरू माझ कोदोको रक्सी निकै लोकप्रिय रहेको छ ।

 

यही लोकप्रिय कोदोको रक्सीलाई बेलायतका नेपालीहरूले स्थापना गरेको कम्पनी कोदो लिमिटेडले प्रिमियम ग्राहकहरूको लागि ब्राण्डिङ गरेको हो । कम्पनीले ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गर्ने गरेको छ ।

 

‘कुनै समय सीएनएन ट्राभलले जारी गरेको विश्वका ५० स्वादिला पेय पदार्थहरूको सूचीमा कोदोको रक्सी पनि परेको थियो । यो रक्सी भिन्न स्वादको छ र यसले पिउने मान्छेलाई सहज र न्यानो महशुस गराउँछ,’ कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले ‘प्योर कोदोको रक्सी’ प्रतिबोतले २६ यूरो (करिब ३, ५८६ रुपैयाँ) र ‘तीनपाने कोदोको रक्सी’को १३ यूरो (करिब १७९२ रुपैयाँ) तोकेको छ ।

 

यसअघि पनि नेपालका नेवारहरूको लोकप्रिय पेय पदार्थ ‘छ्याङ’ कोरियामा ब्राण्डिङ भइसकेको छ भने पूर्व राजा विरेन्द्रको नामबाट छोटो समयको लागि स्वीट्जरल्याण्डमा ‘विरेन्द्र’ नाम गरेको वियर पनि ब्रण्डिङ गरिएको थियो । उक्त वियरमा पूर्व राजाको तस्वीर पनि राखिएको थियो ।

 

‘प्योर कोदोको रक्सी’ नाम दिइएको यो रक्सी कोदोको लिमीटेट गरेको कम्पनीले उत्पादन गरेको हो भने यो रक्सी बेलायतको ब्रेन्टिङबीइ डिस्टिलरीमा ब्रु गरिएको छ । यो डिस्टिलरी बेलायतको मेल्टन मोउब्रे नाम गरेको सानो ‘टाउन’मा रहेको छ ।

 

‘हाम्रो जन्मभूमि प्रतिको अगाध आकर्षण र यादले हामीलाई यो रक्सी उत्पादन गर्न प्रेरणा दिएको हो,’ कम्पनीले उल्लेख गरेको छ ।

 

कोदोको रक्सी नेपालका जनजातीहरू माझ निकै लोकप्रिय रहेको छ भने यो मूल रूपमा हिमाली भेगमा पिउने गरिएको छ । यो रक्सी जनजातीहरूको धार्मिकदेखि सामाजिक कार्यहरूको अभिन्न अंग रहँदै आएको छ । यो रक्सी प्रिमियम ग्राहकहरू लक्षित गरेर बनाइएको कम्पनीले जनाएको छ ।

 

कोदो नेपालको चौथो प्रमुख बाली हो । यो बाली अक्टुबर र नोभेम्बर महिनामा भित्र्याइन्छ ।

 

गुराँस लघुवित्तको लाभांश घोषणा Read Previous

गुराँस लघुवित्तको लाभांश घोषणा

आइएमई पेको दशैँ अफर : हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासब्याक Read Next

आइएमई पेको दशैँ अफर : हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासब्याक