भण्डारण केन्द्र नहुँदा ‘अफ सिजन’मा महँगिदै प्याज, निर्माण गर्ने छैन योजना

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्य वस्तुहरुको भण्डारण र विक्री वितरणको चाप बढ्न थालेको छ । अन्य समयमाभन्दा यसबेला खाद्यान्न, फलफूल, तरकारीलयागत उपभोग्य वस्तुको खपत र माग बढ्छ ।

 

खाद्य सामग्रीलाई सहज वितरण र व्यवस्थापन गर्न असोज १ गतेबाटै सरकारले सहुलियत पसल समेत सुरु गरिसकेको छ । तर, हरेक दिन भान्सामा प्रयोग हुने प्याजको भण्डारण केन्द्र नहुँदा अफसिजनमा सधैं महँगिने गरेको छ ।

 

सरकार तथा निजी क्षेत्रले आलु, फलफूल लगायत स्टक राख्न भण्डार केन्द्र बनाए पनि हालसम्म प्याज भण्डारण केन्द्र बनाएका छैनन् । पर्याप्त भण्डार नहुँदा अफ सिजनमा मूल्य बढ्ने गरेको व्यापारीहरु बताउँछन् ।

 

लामोसमयसम्म गोदाममा राख्दा कुहिने भएकाले व्यापारीहरुले पनि दिनदिनै आयात गरेर बेच्ने गरेका छन् । उपत्ययककै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटीमा पनि प्याज स्टकको लागि कुनै भण्डारण छैन ।

 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भण्डार केन्द्र नहुँदा प्याज स्टक नरहेको बताए । ‘कालिमाटीमा प्याजको लागि कुनै भण्डारण छैन, प्याज छिट्टै कुहिने भएकाले लामो समयसम्म राखिँदैन,’ उनले चाणक्य पोष्टसँग भने, ‘चाडवाडको बेला माग धेरै हुन्छ । तर, खाद्यन्न जस्तो स्टक रहेको हुँदैन, जसले गर्दा मूल्य बढ्ने गरेको छ ।’

 

समितिका अनुसार नेपालमा ९५ प्रतिशत प्याज छिमेकी मुलुक भारतबाट आयात हुन्छ । प्याज भण्डारणको लागि कुनै केन्द्र नभएकाले बजारमा आयातित प्याज दैनिक खपत हुने र तत्कालै मूल्य वृद्धिको अवस्था रहे बढेकै मूल्यमा उपभोक्ताले प्याज किन्नु पर्ने अवस्था रहेको छ ।

 

‘प्याज भण्डारणको लागि हामीसँग कुनै व्यवस्था छैन, जसले गर्दा भारतमा मूल्य वृद्धि भए नेपालमा तत्काल प्रभाव छ र मूल्य वृद्धि हुन्छ,’ श्रेष्ठले बताए ।

 

कालीमाटी तरकारी व्यवसायी संघका प्रमुख खुमप्रसाद घिमिरेले पनि तरकारी बजारका व्यापारीहरुको गोदाममा रहेको बाहेक प्याज स्टक नरहेको बताए । ‘हाल दैनिक आयात भइरहेको केही प्याज मात्र व्यापारीको गोदाममा छ । त्यो बाहेक अन्त स्टक राखिएको छैन । कोल्ड स्टोर नहुँदा प्याज स्टक राख्न सकिँदैन ,’ उनले भने, ‘प्याजलाई लामो समयसम्म भण्डारण गर्दा बिग्रिने सम्भावना हुन्छ । भण्डारण केन्द्र बनाउन सरकारले वास्ता गर्दैन, हामी व्यापारीकाे क्षमता छैन ।’

 

प्याज भण्डारण केन्द्र बनाउने सरकारको छैन योजना

 

पर्याप्त स्टक नहुँदा बजारमा प्याजको अभाव भई मूल्य बढ्ने गरेको भए पनि सरकारले भण्डार केन्द्र बनाउने योजना नै बनाएको छैन ।

 

सिजनमा उत्पादन भएको प्याजलाई लामो समयसम्म सुरक्षित राख्न उच्च प्रविधियुक्त भण्डारण केन्द्र आवश्यकता पर्छ । तर, सरकारले हालसम्म त्यसलाई नजरअन्दाज गर्दै आएको देखिन्छ ।

 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार संञ्जेलले हालसम्म सरकारले प्याज भण्डारणको लागि कुनै व्यवस्था नगरेको बताए । ‘सरकारले प्याज भण्डारणको लागि कुनै व्यवस्था गरेको छैन, तत्कालै बनाउने योजना पनि छैन,’ उनले भने, व्यापारीहरुले बनाउँदै गरेको भए थाहा भएन ।’

 

‘नियमित आयात भइरहेको छ, अभाव हुँदैन’

 

चाडवाडमा माग बढ्दा केही मूल्य बढे पनि प्याजको अभाव भने नहुने समितिले बताएको छ । व्यापारीहरुसँग ठूलो परिमाणमा प्याजको स्टक नरहे पनि हाल दैनिक १०० देखि २०० टन हाराहारीमा प्याज आयात भइरहेकाले अभाव नहुने श्रेष्ठले बताए ।

 

‘भण्डारण केन्द्र नहुँदा व्यापारीहरुले पर्याप्त मात्रमा प्याज स्टक राख्न सकेको छैनन्,’ श्रेष्ठले भने, ‘तर हाल नियमित आयात भइरहेको छ । आयातमा कुनै समस्या छैन । त्यसैले अभाव हुने सम्भावना छैन ।’

 

पछिल्लो सयम भारतमै प्याजको मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य बढेको संघ प्रमुख घिमिरेले बताए । ‘प्याज भण्डारणको अभावका कारण प्याजको मुल्य वृद्धि भए त्यसको प्रभाव भने नेपालमा तत्काल पर्न सक्छ,’ उनले भने ।

 

चाडपर्वमा बजारमा प्याजको माग वृद्धि भएर वा व्यापारीको कारणले नभएर भारतमै मूल्य वृद्धि भए तयसको सोझो असर नेपालमा पर्ने घिमिरेको भनाइ छ ।

 

लिलामी नगर्दा कवाडी बन्दै ३०० मोटरसाइकल Read Previous

लिलामी नगर्दा कवाडी बन्दै ३०० मोटरसाइकल

बुद्धभूमि नेपालको आइपीओमा आवेदनको ओइरो, पहिलो दिन कतिले भरे ? Read Next

बुद्धभूमि नेपालको आइपीओमा आवेदनको ओइरो, पहिलो दिन कतिले भरे ?