नजिकियो चाडवाड, कस्तो छ खाद्य वस्तुको मौज्दात ?

काठमाडौं । चामल, दाल, नुन, चिनी, तेललगायतका दैनिक खाद्य वस्तुको खपत बढ्दो क्रममा रहेको छ । खपत बढेसँगै बजारमा खाद्य मौज्दात पनि बढेको छ ।

 

नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोध कुमार गुप्ताले हाल बजारमा ६ महिनालाई पर्याप्त हुने खाद्य वस्तु रहेको बताए । उनले दशैं तिहारमा खाद्य अभाव नहुने भन्दै गोदाम, विक्रेता र रिटेल पसलहरुमा गरी ४ देखि ६ महिनाका लागि पुग्ने खाद्यन्न बजारमा रहेको बताए ।

 

‘दशैं तिहारमा खाद्य वस्तुको केही अभाव हुन्न । अहिले गोदाम, रिटेल र विक्रेतासँग गरेर हामीसँग ४–६ महिना पुग्ने दाल, चामल, तेल छ,’ गुप्ताले चाणक्यपोष्टसँग भने ।

 

यस्तै खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले १ लाख ९५ हजार क्विन्टल खाद्य वस्तु मौज्दात रहेको जनाएको छ । कम्पनीकी सूचना अधिकारी शर्मीला सुवेदी न्यौपानेले हाल मौज्दात खाद्य धेरै नभएको बताइन् । उनले बजारको सन्तुलन व्यवस्थापन गर्न मात्र कम्पनीले खाद्य विक्री तथा मौज्दातको काम गर्ने भएकाले कम्पनीसँग पर्याप्त मौज्दात नहुने बताइन् । उनले दशैं तिहार लगतै खाद्य संकलन मागको तयारी भइरहेको बताइन् ।

 

‘अहिले हामीसँग १ लाख ९५ हजार क्विन्टल दाल, चामल, धान र गेडागुडीहरु छन् । हामीले ल्याउँदै बिक्री गर्दै गर्ने हो । दशंैं तिहार पछि चाँहि फेरी खाद्य संकलन माग गर्ने छौं,’ न्यौपानेले चाणक्यपोष्टसँग भनिन् ।

 

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चामल, गहँु र धानको मौज्दात १८ हजार ५ सय १९ मेट्रिकटन रहेको जनाएको छ । मन्त्रालयकी सूचना अधिकारी उर्मिला केसीका अनुसार हाल चामल मात्र १० हजार ९ सय ५१ मेट्रिकटन मौज्दातमा रहेको छ ।

 

‘उपत्यकाका लागि १८ हजार ५१९ मेट्रिकटन चामल, धान, गहुँ खाद्य कम्पनीसँग छ । माग पुर्याउने भन्दा पनि कमी नहोस भनेर यो मौज्दात राखिएको हो,’ केसीले भनिन् ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले तथ्यांक संकलनको काम भइरहेको बताउँदै हाल धानको यकिन उत्पादन तथ्यांक नभएको बताए ।

 

‘यो वर्ष गत वर्षको भन्दा धानको उत्पादन बढ्छ भन्ने अनुमान गरेका छौं, अहिले नै यति प्रतिशतले उत्पादन बढ्छ भनेर भन्न सकिदैंन, तथ्यांक संकलन गरिरहेका छौं,’ सन्जेलले चाणक्यपोष्टसँग भने ।

 

गत वर्ष ५६ लाख मेट्रिकटन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक रहेको छ ।

 

साल्ट ट्रेडिङसँग छैन चिनी

 

नेपालमा देशभर वार्षिक २ लाख ५० हजार मेट्रिकटन माग रहेको छ । सामान्यतः १ महिनामा २० हजार मेट्रिकटन चिनी खपत हुने गर्दछ भने चाडपर्वमा ३० हजार मेट्रिकटन चिनी खपत हुने गरेको छ ।

 

नेपालमा १ लाख ५ हजार मेट्रिकटन चिनी उत्पादन हुने गर्छ । पछिल्लो समय उखु किसानहरुले भुक्तानी पाउन नसकेपछि कृषिबाट पलायन हुन थालेसँगै चिनीको उत्पादन समेत घटेको छ ।

 

 

यसरी हेर्दा १ लाख ३० हजार मेट्रिकटन चिनी अभाव नै रहेको छ । सो अभावलाई पूर्ति गर्न चिनी आयात गर्ने गरिन्थ्यो । तर, यो पटक अर्थमन्त्रालयबाट चिनी आयातका लागि निर्देशन नआउँदा चिनी अभाव जस्तै भएको छ ।

 

उता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजारमा चिनीको मौज्दात पर्याप्त भएकाले अभाव नहुने जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईले ३ महिनाका लागि पर्याप्त हुने चिनीको मौज्दात बजारमा रहेको दाबी गरेका हुन् । उनले हाल चिनीको मौज्दात ७५ देखि ८० हजार मेट्रिकटन रहेको बताए ।

 

तेल आयातमै निर्भर

 

नेपालमा खाने तेलको माग धान्न आधा भन्दा बढी विदेशबाटै आयात भइरहेको तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार नेपालमा वनस्पति तेलको माग सन् २०१९÷२० मा २ करोड ५९ लाख २० हजार टन पुगेको छ । तर, स्वदेशी उत्पादन जम्मा १ करोड ६ लाख ५० टन मात्रै रहेको छ । स्वदेशी उत्पादनबाट तोरीको दाना, बदामको दाना, नरिवल, पाम तेल र राइस ब्रेन आयल, कटन सिड गरेर १ करोड ६ लाख ५० हजार लिटर तेल मात्रै प्रशोधन हुने गरेको हो ।

 

यस आधारमा नेपालमा खपत हुने मध्ये १ करोड ५२ लाख ७० हजार लिटर तेल आयात हुने गरेको छ । यसरी हेर्दा माग धान्नका लागि आयात गर्नै पर्ने देखिन्छ ।

 

गत आर्थिक वर्ष २०७७÷७८ मा ८० अर्ब ६५ करोड ४९ लाख रुपैयाँ बराबरका खाने तेल तथा कच्चा पदार्थहरु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्य बराबरको ६८ करोड ८३ लाख ८८ हजार केजी कच्चा पदार्थ तथा तेल आयात भएको थियो ।
आयात भइराख्ने हुनाले बजारमा भने तेलको कुनै अभाव नहुने व्यवसायीहरु बताउँछन् ।

 

६ महिना पुग्ने नुन

 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग हाल १ लाख ४८ हजार मेट्रिकटन नुन मौज्दात रहेको छ । ६ महिनालाई पुग्ने मौज्दात रहेको मन्त्रालयकी सूचना अधिकारी शर्मीलाले जानकारी दिइन् ।

 

बसको अग्रिम टिकट बुकिङ खुला, यी ठाउँबाट काट्न सकिन्छ टिकट Read Previous

बसको अग्रिम टिकट बुकिङ खुला, यी ठाउँबाट काट्न सकिन्छ टिकट

लमजुङको पर्यटनले लिन थाल्यो गति, व्यवसायी खुसी Read Next

लमजुङको पर्यटनले लिन थाल्यो गति, व्यवसायी खुसी