काठमाडौं । सरकारले आज (असोज ११) देखि दशैंका लागि लामो दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको छ ।
यातायात व्यवस्था विभागका अनुसार बिहान ७ बजेदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो । टिकट बुकिङ खुला भएसँगै अब दशैंमा काठमाडौं बाहिर जानेले आफूले चाहेको मितिको टिकट काट्न सक्नेछन् ।
कोरोना महामारी र स्वास्थ्य मापदण्डलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट टिकट काट्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ । पश्चिमतर्फ जाने यात्रुले नयाँ बसपार्कबाट टिकट काट्न सक्नेछन् भने पूर्व जानेले कोटेश्वर, चाबहिलबाट टिकट काट्न सक्नेछन् ।
साथै, विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद गर्न सकिनेछ ।
११ काउन्टर थप
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो ।
प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको जानकारी दिए । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।