काठमाडौं । भन्निछ यदि मान्छेले आफ्नो क्षमताको सही पहिचान गर्यो र साँचो मनले मिहिनेत गर्यो भने उसलाई सफलता चुम्नबाट कसैले रोक्न सक्दैन । डोलराज गैरेको हकमा पनि यसै भएको छ । सन् २००३ मा उनले भारतको मध्यप्रदेशको भोपालमा साइकलमा सुप बेचेर खानेकुराको व्यापार गर्न सुरू गरेका थिए । उनीसँग त्यो समय न पसल थियो, न त धेरै पूँजी ।
‘खाना बनाउनु मेरो सोख हो । म सन् २००३ ताका कार्यालयको काम समेपछि साइकलमा सुप, बिरयानी र स्याण्डवीच बनाएर साइकलमा बेच्न हिँड्थें । आफन्त र साथीभाइे खुब जिस्क्याउँथे । तर ग्राहकहरूले भने मेरो हातको स्वाद खुब मनपराए । ग्राहकका त्यही मायाका कारण म यहाँसम्म आइपुगेको छु ।’
मूल रूपमा नेपाल घर भएका डोलराज किसानका छोरा हुन् । उनका धेरै आफन्तहरू भारतमै काम गर्थे । उनी पनि सन् १९८० ताका घुम्न र पाए काम गर्न भनेर भारत पसे । आठ कक्षासम्म पढेका डोलराजले केही समय दिल्लीमा काम गरे ।

त्यसपछि उनले मध्ये प्रदेश पर्यटनमा सरकारी काम पाए र भोपाल तर्फ लागे । आफन्त र साथीभाइहरू अब डोलराज जिन्दगीमा ‘सेटल’ भएको भनेर फुर्क्याउँथे । तर डोलराज भने त्यतिमा सन्तुष्ट थिएनन् । कार्यालयको नोकरी दिउँसो ३ बजे नै सकिन्थ्यो । त्यसपछि उनले बजेको समयमा केही गर्ने निधो गरे ।
सन् २००३ ताका उनले साइकलमा सुप बेच्न थाले । मानिसहरूलाई डोलराजको सुप यति मनपर्यो कि उनीहरूले उनको नामनै ‘साइकिल सुपवाला’ राखिदिए । उनी यो नयाँ नामले भोपालभर चर्चित भए । यो नाम कमाउन र टिकाउन उनले धेरै मिहिनेत गरेका थिए ।
यसरी नाम कमाउन थालेपछि उनले सरकारी जागिर छाडिदिए र सानो ठाउँमा सुप बेच्न थाले । त्यसपछि उनले सानो रेष्टुरेन्ट खोले । त्यो बनाउन मात्र उनलाई पाँच वर्ष लागेको थियो । उनले आफ्नो पहिलो रेष्टुरेन्ट भोपाल १० नम्बर मार्केटमा खोलेका थिए । १६० वर्ग फिटको त्यो रेष्टुरेन्टले नै उनको सफलताको गोरेटो कोर्यो । अहिले त्यहि सानो रेष्टुरेन्टमा १६ जनाले रोजगारी पाएका छन् ।

भोपालको यो सानो फाष्ट फुड रेष्टुरेन्टमा अहिले धेरै थरी खाना पाइन्छ । तर यहाँको स्याण्डवीच र सुप सबैभन्दा चर्चित भएका छन् ।
‘हामी हरेक खानामा आफ्नै मसलाको प्रयोग गर्छौं । स्याण्डवीचको मायोनेज होस वा छोलेको मसला, ती सबै हाम्रा आफ्नै हुन् । त्यसैले हाम्रो खानामा पाइने स्वाद अन्यत्र कहीँ पनि पाइँदैन,’ डोलराज बताउँछन् ।
यसका अलावा डोलराज आफ्नो रेष्टुरेन्टको सरसफाइ र खानाको गुणस्तरमा सम्झौता गर्दैनन् । २ वर्ष अगाडि उनले आफ्नो रेष्टुरेन्टलाई ‘सागर गैरे’को नामबाट कम्पनी (ब्राण्ड)को रुपमा दर्ता गराएका छन् । अहिले भोपालमा यो ब्राण्ड अन्र्तगत १७ वटा आउटलेटहरू छन् । सबै आउटलेटहरूमा मसला एकै ठाउँबाट जाने गरेको डोलराज बताउँछन् ।

अहिले भोपालका अलावा छतरपुर, सागर र इन्दोरमा पनि नयाँ आउटलेटहरू खुल्ने क्रममा रहेका छन् ।डोलराजका अनुसार मध्य प्रदेशका अलावा लखनउ र मुम्बइमा पनि ‘सागर गैरे’को फ्रान्साइच खोल्नेबारे छलफल चलिरहेको छ । अहिले डोलराजका छोरा सागर यो ब्राण्डलाई भारतभर फैलाउनका लागि लागिपरेका छन् ।
‘विदेशी बर्गरका ब्राण्डहरू भारतभरी फैलिन सक्छन् भने भारतमै जन्मेको ब्राण्ड किन फैलिन सक्दैन ? हाम्रो उद्देश्य धेरै नाफा कमाउने भन्दा पनि हाम्रो आफ्नो स्वाद धेरै भन्दा धेरै फैलियोस भन्ने नै हो ।’
आफ्नो पुराना दिनहरू सम्झदैं डोलराज भन्छन्, ‘म ती दिनहरू खुब याद गर्छु । आफ्नै हातले स्याण्डवीच बनाएर मानिसहरूलाई खुवाउने गर्थें । मेरा लागि ती एकदमै आनन्दका दिनहरू थिए ।’
-द बेटर इन्डिया डटकमबाट