काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचीकृत भएको छ । कम्पनीले आइतबार संस्थापक र साधरण गरी कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत भएसँगै सोमबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसकेमा अर्को दिन मात्र कारोबारमा आउने छ ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सेले MLBS संकेत चिह्न प्रदान गरेको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्यूनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । यही बीचमा रहेर कारोबार सुरू हुनेछ ।
लघुवित्तले साउन २७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
जसमा २३ लाख ६१ हजार ८२७ जनाले २ करोड ९६ लाख ५५ हजार ४६० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये भाग्यमानी ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।