अधिकांश हवाई टिकट बुकिङ, उडान थप्दै एयरलाइन्स कम्पनी

काठमाडौँ । चार्डपव नजिकिएसँगै आन्तरिक हवाई कम्पनीहरूले उडान थप्ने तयारी थालेका छन् । दशैँमा काठमाडौँ उपत्यका छाड्ने यात्रुहरूको संख्या बढ्ने भएसँगै हवाई कम्पनीहरूले उडान थप्ने तयारी गरेका हुन् ।

 

दशैंको बेलाको नियमित उडानको अधिकांश टिकट बुकिङ भइसकेको एयरलाइन्स कम्पनीहरूले बताएका छन् । सोही आधारमा यात्रुको चाप बढ्ने देखेपछि एयरलाइन्सहरूले थप उडान थप्ने तयारी गरेका हुन् ।

 

कोरोना संक्रमण कम भएसँगै यस वर्ष उपत्यका बाहिर जाने मानिसको संख्या बढ्ने देखिएको छ । बाढीपहिरोका कारण सडकमार्ग बिग्रिएको र पछिल्लो समय सार्वजनिक सवारीको भाडा समेत बढेकोले यसपालि हवाई यात्रु बढ्ने अनुमान गरिएको छ । सोही आधारमा एयरलाइन्स कम्पनीहरुले उडान थप्ने तयारी गरेका हुन् ।

 

सामान्य अवस्थाभन्दा चाडपर्वमा यात्रुहरूको आवतजावत बढी हुने भएकाले उडान थप्ने तयारी भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले उडान थप गर्नका लागि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग गरिएको बताए ।

 

‘दशैँका लागि भनेर हामीले २/४ वटा उडान थप्न नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिरहेका छौँ,’ बर्तौलाले चाणक्य पोष्टसँग भने ।उनले अहिल्यै नै दशैंका लागि निर्धारण गरिएको नियमित उडानको आधा बढी टिकट बुकिङ भइसकेको जानकारी दिए ।दशैंसम्म सबै टिकट बुकिङहुने देखिएपछि उडान थप्नुपर्ने उनको भनाइ छ ।  यतीले हाल देशका विभन्न गन्तव्यमा दैनिक ४२ वटा उडान गरिरहेका छ ।

 

यस्तै, बुद्ध एयरले यही साता भित्र उडान थप गर्ने जनाएको छ । दशैँ लक्षित ६० प्रतिशत टिकट बुकिङ भइसकेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । ‘अनलाइन र ट्राभल एजेन्सीमार्फत गरेर ६० प्रतिशत उडान बुकिङ भइसकेको छ,’ उनले चाणक्य पोष्टसँग भने । उनले हाल अकुपेन्सी ९४ प्रतिशतभन्दा बढी रहेको बताए ।

 

बुद्धले हाल काठमाडौंबाट सिधा र उपत्यकाबाहिरबाट अन्तरप्रदेश गरी दैनिक १४० बढी उडान गरिरहेको छ । बुद्धले हाल ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट उडान गर्दै आएको छ ।

 

यसैगरी, श्री एयरलाइन्सले यात्रुको चाप हेरेर २/४ दिनमा उडान थप गर्ने जनाएको छ । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले कति उडान थप गर्ने टुंगो नलागे पनि याुत्रको चाप बढेमा थपिने बताए । ‘अहिले उडान थप्ने ठेगान छैन्, यात्रुको चाप बढ्दै गएपछि उडान थपिन्छ,’ उनले भने ।

 

उनले हाल सबै उडानको टिकट बुकिङ भइसकेको बताए । हाल श्रीले सबै उडान पूर्ण क्षमतामा यात्रुराखेर गरिरहेको छ । श्रीले दैनिक विराटनगरमा ४, नेपालगञ्जमा र धनगढीमा ३/३, भैरहवा र भद्रपुरमा २/२ उडान तथा जनकपुर र सिमरामा १/१ गरेर १६ उडान गरिरहेको छ ।

 

अधिकांश एयरलाइन्सका दशैंको नियमित उडानको टिकट बुकिङ भइसकेका छन् । एयरलाइन्स कम्पनीहरूले उडान थपेमा सर्वसाधरणलाई केही राहत पुग्नेछ । लामो दूरीका सार्वजनिक सवारीको भाडा बढेसँगै हवाई यात्रुको संख्या बढ्ने आकलन गरिएको छ ।

 

गुणले ८ वर्षपछि सुरू गर्यो उडान

 

गुण एयरलाइन्सले ८ वर्षपछि असोज १ गतेदेखि नियमित उडान सुरू गरेको छ । दशैँ–तिहार अवसर पारेर गरेर उडान सुरू गरेको हो । उक्त हवाई कम्पनीले लामो समय पछि उडान थालेसँगै यात्रुलाइ सहज हुने अपेक्षा गरिएको छ ।

 

हाल २९ सिट क्षमताका ५ वटा जहाजमार्फत उडान गरिरहेको कम्पनीले जनाएको छ । गुणले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, सिमरा र सुर्खेत लगायतका स्थानमा उडान गरिरहेको छ ।

 

२००९ मा स्थापना भएको गुण एयरलाइन्स २०१३ मा सिम्रिकमा परिवर्तन भएको थियो । कोरोनाको महामारी जारी नै रहेको कारण एयरलाइन्सले स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा अपनाएर उडान सुरू गरेको हो ।

 

हाल आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद सातौं पटक थप्ने तयारी Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद सातौं पटक थप्ने तयारी

अब यी शर्त पूरा गरेका हाइड्रोपावरले मात्र हकप्रद जारी गर्न पाउने Read Next

अब यी शर्त पूरा गरेका हाइड्रोपावरले मात्र हकप्रद जारी गर्न पाउने