गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद सातौं पटक थप्ने तयारी

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणधीन आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्यात सातौं पटक थप्ने तयारी गरिएको छ ।

 

यसअघि पटक पटक म्याद थपिए पनि तोकिएकै समयमै निर्माण पूरा हुन नसकेपछि फेरि म्याद थप्ने तयारी गरिएको हो ।तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते शिलान्यास गर्नुभएको राष्ट्रिय गौरवको यो आयोजना निर्माण सुरु भएको तीन वर्षमा सक्ने लक्ष्य राखिएको भए पनि हालसम्म पूरा हुनसकेको छैन ।

 

छैठौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरणमार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई प्रवेश अधिकारीले जानकारी दिए।

 

विभिन्न कारणले आयोजना निर्माण कार्य पूरा नभएपछि २०२१ डिसेम्बरसम्ममा सक्ने लक्ष्यका साथ सातौँ पटक म्याद थपका लागि पत्रचार भएको आयोजना प्रमुख ई अधिकारीले बताए । “विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, आयोजना प्रमुख ई अधिकारीले भने, “हामी अहिले प्राविधिक रुपमा ९८ प्रतिशत कार्य सकेका छौँ । अब क्यालिब्रेसन फ्लाइटको तयारी, फिनिसिङ, फर्निचर, फर्निसिङको काम गरिरहेका छौं।”

 

विमानस्थलको निर्माण सुरु भएसँगै मधेस आन्दोलन, भारतीय नाका बन्दी, भूकम्प र कोभिडजस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण अबका केही महिनाभित्र सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यालयले जनाएको छ ।

 

तीन वर्षमा सक्ने लक्ष्यका साथ ३१ डिसेम्बर २०१४ मा लगभग ६ अर्ब ८२ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको भए पनि निर्माण सुरु भएको ७ वर्षसम्म पनि निर्माण पूरा नभएको हो ।

 

विदेशी दक्ष जनशक्तिले विमानस्थलमा प्राविधिक उपकरण जडान गरिसकेको छ । धावन मार्ग, टावर, विमानस्थलमा सूचना तथा विद्युतीकरण, रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरण, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिनलगायत उपकरण जडान, सुरक्षा पोस्ट सम्पन्न भइसकेको आयोजना कार्यालयले बताएको छ । आयोजना कार्यालयले सेन्ट्रल एसी, उडान जानकारी डिस्प्ले, फर्ड लाइट, मौसम पूर्वानुमान उपकरण, सीसी टिभीलगायत सम्पूर्ण प्रविधि जडान गरिएको आयोजना कार्यालयको दाबी छ ।

 

तीन किलोमिटर लामो धावनमार्ग भएको यो विमानस्थलमा बोइङ ७७७–२००, एयरबस, ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्नेसक्ने छन् । यो विमानस्थल सञ्चालनपछि लुम्बिनीमा वार्षिक करिब ३० लाखभन्दा बढी बौद्ध धर्मावलम्बी ल्याउने लक्ष्य राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको यो विमानस्थल सञ्चालनपछि देशकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Previous

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

अधिकांश हवाई टिकट बुकिङ, उडान थप्दै एयरलाइन्स कम्पनी Read Next

अधिकांश हवाई टिकट बुकिङ, उडान थप्दै एयरलाइन्स कम्पनी