विश्वभर सबै स्मार्ट फोनको एउटै चार्जर बनाउन दबाव, एप्पललाई धक्का लाग्ने

ब्रसेल्स । युरोपेली संघले सबै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दबाव दिएको छ । संघको यस दबावले विश्वभरी धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्नसक्ने छ ।

 

युरोपेली आयोगले एकैप्रकारको चार्जर भएमा विद्युत खपत पनि कम हुने र चार्जर धेरै खेर जाने समस्या पनि कम हुने विश्वास लिएको छ ।

 

त्यसैगरी उपभोक्ताहरूलाई हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने वाध्यता हट्ने र विद्युतीय सामग्रीहरूको फोहोर कम हुने आयोगको निष्कर्ष छ ।

 

तर एप्पल कम्पनीले भने आयोगको निर्णयले नयाँ आविस्कार गर्न र विविधतालाई निरुत्साहित गर्ने दाबी गरेको छ ।आयोगको निर्देशनका कारण अब मोबाइल फोनको चार्जर उत्पादकहरुले एकै प्रकारको चार्जर बनाउनु पर्ने बाध्यता आइपर्ने भएको छ ।

 

युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति समान प्रकारको चार्जरसम्बन्धी कानुनको मस्यौदा तयार पारेर पेश गरेको अधिकारीहरूले जनाएका छन् ।

 

आयोगका कानुन निर्माताहरूले सबै उपकरणलाई उपयुक्त हुने उचित प्रकारको चार्जर बनाउने व्यवस्था गर्नुपर्ने माग झण्डै एक दशकदेखि उठाउँदै आएका थिए ।एकै प्रकारको चार्जरको प्रयोगले वातावरण संरक्षणमा समेत ठूलो योगदान गर्न सक्ने उनीहरुको दाबी छ ।

 

फालिएका तथा प्रयोगमा नआएका चार्जरका तारहरूका कारण हरेक वर्ष ११ हजार टन फोहोर उत्पादन हुने गरेको युरोपेली आयोगको एक अध्ययनले देखाएको थियो ।

 

सोही अध्ययका अनुसार गत वर्ष युरोपेली संघ मातहतका मुलुकहरुमा ४२ करोड मोबाइल फोन तथा अन्य हाते उपकरण विक्री भएका थिए ।औसतमा प्रत्येक व्यक्तिसँग तीनवटा फोन चार्जर रहने गरेको जसमध्ये २ वटा प्रयोगमा आउने गरेको पनि अध्ययनले देखाएको थियो ।

 

आयोगको प्रस्तावित कानुनमाथी सुरुमा युरोपेली संसद र संघमा आवद्ध देशहरुले आन्तरिक रुपमा छलफल गरेर पारित गर्नु पर्ने भएकाले यो नियम लागू हुन तीन वर्षसम्म लाग्न सक्ने बताइएको छ ।एएफपी

दशैंका लागि असोज ११ देखि अग्रिम टिकट खुल्ने, कहाँ जान कति लाग्छ भाडा ? (भाडादरसहित) Read Previous

दशैंका लागि असोज ११ देखि अग्रिम टिकट खुल्ने, कहाँ जान कति लाग्छ भाडा ? (भाडादरसहित)

व्यापार एकीकरण रणनीतिमा संशोधन गर्ने विषयबारे उद्योग संगठन मोरङको अन्तरक्रिया Read Next

व्यापार एकीकरण रणनीतिमा संशोधन गर्ने विषयबारे उद्योग संगठन मोरङको अन्तरक्रिया