काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको साउनको आर्थिक विवरण अनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा १८.१ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्ष समेही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्यामा उल्लेखरय वृद्धि भई १३ हजार ८०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २८६.१ प्रतिशतले वृद्धि भई ११ हजार ६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८० प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १६.४ प्रतिशतले घटेर ८५ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो ।