काठमाडौं । कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ ।
कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदैआएको छ ।
निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयर र यती एयरलाइन्सले माउन्टेन फ्लाइट सुरु गर्ने भएका हुन् । बुद्धले हरेक हरेक शनिबार र यतीले शनिबार र आइतबार पर्वतीय उडान सञ्चालन गर्ने जनाएका छन् ।
दुवै एयरलाइन्स कम्पनीले यात्रुलाई आकर्षित गर्न अफर समेत ल्याएका छन् । दुवै कम्पनीले एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिने अफर ल्याएका हुन् ।
बुद्धका अनुसार ९ हजार ९९९ रुपैयाँमा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको छ । पर्वतीय उडानमा ठूला जहाज (एटीआर) जहाजको प्रयोग गरिनेछ । सोही कारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रुसँगैको सिटमा बसेर यात्रा गर्न सक्नेछन् ।
यस्तै, यतीले ८ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट विक्री गर्नेछ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक घण्टाको पर्वतीय उडान हुन्छ ।
शरद ऋतु सुरु भएसँगै नजिकिएको दशैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान सुरु गरेका हुन् ।