काठमाडौं । हिजो (असोज ५ गते)देखि सोह्रश्राद्ध शुरू भएको छ । यो समयमा सबैभन्दा व्यस्त यदि कोही हुन्छ भने ती कर्मकाण्ड गराउने ब्राह्मणहरू नै हुन् । यही व्यस्ततालाई ‘सोह्रश्राद्धका ब्राह्मणसँग सर्प पनि डराएर दुलो पस्छ’ भनेर उखान मार्फत अभिव्यक्त गरेका छन् पूर्खाहरूले । सोह्रश्रादमा ब्राह्मणहरू यति व्यस्त भएर दौडिरहेका हुन्छन् कि ‘हामीलाई कुल्चिदेलान्’ भनेर सर्पहरू डराएर दुलाभित्रै बस्छन् भनेर ब्रह्मणहरूको व्यस्ततालाई सांकेतिक रूपमा अभिव्यक्त गरेका हुन् पुर्खाहरूले ।
‘अहिले बिहान ५ बजेदेखि दिउँसो २-३ बजेसम्म जजमानहरूकोमा श्राद्ध गर्दैमा व्यस्त भइन्छ । खाना खाएर श्राद्ध गर्न मिल्दैन । यसो चिल्लो चाप्लो खायो दौडिरह्यो,’ चाबहिल निवासी ब्राह्मण हरिप्रसाद आचार्यले भने ।
‘दलित, जनजातीले हामी अन्यायमा पर्यौं भनेर आन्दोलन गर्छन् । तर, हामी ब्राह्मणले पनि श्रमको मूल्य पाएनौं, अन्यायमा पर्यौं भनेर आन्दोलन गर्न मिल्ने र सक्ने अवस्था छैन । यसका सन्दर्भमा विचार निर्माण गर्न सक्ने अवस्था पनि छैन,’
यो समयमा आफूहरूलाई ग्यास्ट्रिकले धेरै सताउने आचार्य बताए । ‘खाली पेटमा चिल्लो चाप्लोमात्र खाएपछि घाँटी पोलेर हैरान हुन्छ । कर्मकाण्डी काममा फेरि भोली गर्छु, एकछिन पछि गर्छु भन्ने हुँदैन । बिरामी हुँदा पनि धर पाइँदैन,’ आचार्यले भने ।
जातका आधारमा मात्र गर्न पाइने यो पेशा पछिल्लो समय निकै दुखिया र खिसीटिउरीको पेशा बनेको ब्राह्मणहरूको गुनासो छ । भोकभोकै र ‘ट्यामको ट्याम’ गर्नुपर्ने यो पेशाको अवमूल्यन भएको उनीहरूको बुझाइ छ ।
‘देउता र पितृसँग सोझै कनेक्सन’ गराउने जिम्मा नेपालको जात व्यवस्था अनुसार ब्राह्मणहरूले पाएका थिए । मानिसहरू जन्मेदेखि नमरुन्जेल गर्नुपर्ने कर्मकाण्डी कामहरूको जिम्मा ब्राह्मणहरूले पाएका हुनाले तुलनात्मक रूपमा अन्य जातहरूको भन्दा उनीहरूको आर्थिक अवस्था राम्रै हुने गरेको थियो ।
‘अहिले अवस्था फेरिएको छ । अर्थतन्त्र पुँजीवादी भइसकेको छ । प्लम्बर, इलेक्ट्रिसियन जस्ता पेशा कर्मीहरूले २–३ घण्टा काम गरेको ४–५ हजार रूपैयाँ लिन थालिसके । हाम्रो कामको कुनै कदर हुँदैन । भौतिक किसिमको काम नभएको हुनाले दर तोक्न पनि सजिलो छैन । कतिपय पुराना जजमानहरूले त श्राद्ध गरेको ४–५ सय रूपैयाँ पनि दिँदैनन्,’ त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रमा एम गरेर हाल कर्मकाण्डी काम पनि गरिरहेका दिवाकर पौडेलले चाणक्य पोष्टसँग भने ।
आफ्ना जजमानहरू पितापुर्खाको पालादेखिका हुने हुनाले कर्मकाण्डको दर बढाउ भनेर भन्न पनि नमिल्ने र काम भौतिक प्रकृतिको नभएको हुनाले पैसाको कुरा गर्नै नमिल्ने ब्राह्मणहरू बताउँछन् ।
‘अन्य ठाउँबाट बसाईंसराइ गरेर आएका नयाँ जजमानहरूसँग घुमाएर दरको कुरा गरेर अलि बढि पैसा लिन मिल्ने भए पनि पुराना जजमानहरूसँग पैसाको कुरा गर्न मिल्दैन । फेरि पैसाको कुरा गर्यो कि ‘लोभी बाहुन’ भन्दिने डर हुन्छ,’ ब्राह्मण आचार्यले भने ।
पुँजीवादी अर्थव्यवस्थाको एउटा मूल मर्म भनेको श्रमको उचित मूल्य पनि हो । नेपाल पनि एककिसिमको पुँजीवादी अर्थव्यवस्थामा प्रवेश गरेको हुनाले थोरबहुत सबै पेशाकर्मीहरूको श्रमको मूल्य तुलनात्मक रूपमा बढेको देखिन्छ । कुनै समय काम गरेर खानै नपुग्ने अवस्थाबाट अहिले एक दिन राम्रोसँग काम गरेर एकजनालाई (घरभाडा छाडेर) हप्ता दिन खान पुग्ने अवस्था आएको मजदुर एवं पेशाकर्मीहरू बताउँछन् ।
‘हाम्रो काम सामन्ती समाजको अवशेष भएको भएर होकी के हो हामीले पुँजीवादी अर्थव्यवस्थाले दिने श्रमको मूल्य पाएनौं । सायद अब हाम्रा छोरानाती यो पेशाबाट बाहिरिन्छन् होला । अहिले पनि धेरैले छाडिसकेका छन् ,’ आचार्यले भने ।
समाजमा मानिसहरूको वैज्ञानिक चेतना बढ्दै गएका कारणले कर्मकाण्डी पेशा अब खिसीटिउरीको विषय बनेको हुनसक्ने ब्राह्मण पौडेलको आंकलन छ । ‘अगाडि गुरु नमस्कार भन्छन् । पछाडी ‘टपरे बाहुन’ भन्छन्,’ यस्तो अपमान सहेर कतिन्जेल काम गर्नु,’ आचार्य भन्छन्, ‘सामन्ती युगमा यो पेशाको गरिमा थियो । अहिले पुँजीवादी युगमा सायद यसले आफ्नो सान्र्दभिकता गुमाएको होला ।’
‘दलित, जनजातीले हामी अन्यायमा पर्यौं भनेर आन्दोलन गर्छन् । तर, हामी ब्राह्मणले पनि श्रमको मूल्य पाएनौं, अन्यायमा पर्यौं भनेर आन्दोलन गर्न मिल्ने र सक्ने अवस्था छैन । यसका सन्दर्भमा विचार निर्माण गर्न सक्ने अवस्था पनि छैन,’ आचार्यले भने ।