काठमाडौं । साझा यातायातले उपत्यकामा सञ्चालन गर्ने भनिएको ४० वटा विद्युतीय बस ल्याउने ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । साझाले उक्त बस ल्याउने ठेक्का चिनियाँ कम्पनी ‘सीएचटीसी’ (किनविन अटोमोबाइल करपोरेसन) लाई दिने तयारी गरेको हो ।
अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेकामा ९ वटा कम्पनीले प्रस्ताव दिएका थिए । जस मध्ये सीएचटीसी कम्पनीले सबैभन्दा कम लागतमा विद्युतीय बस ल्याउने गरी प्रस्ताव गरेको थियो । उक्त कम्पनीसँग सम्झौताको अन्तिम तयारी भइरहेको साझा यातायातका बोर्ड म्यानेजर भुषण तुलाधारले बताए ।
साढे ८ मिटरको २६ सिटे बस आयात गरिने भएको हो । दशैँ अघि नै सम्झौता गरी बस ल्याउने तयारी भइरहेको उनले बताए । ‘सक्दो दशैँ अघि नै बस ल्याउन सम्झौता गर्ने लक्ष्य रहेको छ, दशैँ अघि नभए लगत्तै सम्झौता गर्ने छौं, हामीले उनीहरूलाई बोलाइसकेका छौं, उनीहरू नआउदासम्म थप अध्ययन गर्दै छौं,’ तुलाधारले चाणक्य पोष्टसँग भने ।
साझा यातायातले भ्याट सहित ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउने भएको हो । बसका लागि आवश्यक चार्जर सोही कम्पनीले ल्याउने छ । उक्त कम्पनीले बस ल्याएको ५ वर्षको मर्मत सम्भार समेत निःशुल्क गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख भएको उनले बताए । एउटा गाडीको मूल्य भ्याट सहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।
बस ल्याउन ९ कम्पनीको प्रस्ताव
साझा यातायातले अन्तर्राष्ट्रिय कम्पनीहरूलाई बोलपत्र आह्वान गरेको थियो । ९ वटा कम्पनीले प्रस्ताव प्रतिवेदन पेश गरेका थिए । साझा यातायात, नेपाल सरकारको प्रतिनिधि, महानगरपालिकाको प्रतिनिधि, प्राधिकरण प्रतिनिधिको समिति बनाएर एउटा कम्पनी छनोट गरिएको हो । विभिन्न अध्ययन गरेर सबैभन्दा कम मूल्य कबुल गरेको उक्त कम्पनी छनोट गरिएको थियो ।
आवेदन दिएका ९ कम्पनीहरू मध्ये नान्जीङ गोल्डेन ड्रयागन बस करपोरेट लिमिटेड, बेइकी फोटोन मोटर कम्पनी, जोङटोङ बस होल्डीङ कर्पोरेसन् लिमिटेड, चिन मेसिनेरि इन्जीनेरिङ करपोरेसन, सिएचटी, बीवाईडी अटो इन्डस्ट्री, एनहुई अनकै अटोमोबाईल, चेरी एण्ड वाण्डा गुइजोङ बस र झुहै ग्वाङट्वाङ अटोमोबाईल कम्पनीहरूले बस ल्याउन प्रस्ताव गरेका थिए ।
माघसम्म विद्युतीय बस आउने
छनोट भएको सीएचटीसी कम्पनीले माघ महिना भित्र ३ वटा बस ल्याउने छ । हाल कन्ट्रयाक साइन हुन मात्र बाँकी रहेको उक्त कम्पनीसँग दशैँ अघि नै सम्झौता गर्ने साझा यातायातको तयारी रहेको थुलाधारले बताए । ‘ १/२ हप्ता मै हामी कन्ट्रयाक डिटेल हेरिसक्ने छाँै, त्यसपछि सम्झौता भएको ४ महिनामा उसले बस ल्याउने छ,’ उनले भने ।
सम्झौता हस्ताक्षर भएको ४ महिनामा कम्पनीले ३ वटा बस ल्याउने छ । ३ वटा बस ल्याएपछि काठमाडौँको सडकमा गुडाउन कस्तो छ भनेर परिक्षण गरिने उनले बताए । उक्त ३ वटा बस ल्याइएको अर्को ४ महिनापछि बाँकी ३७ वटा बस आयात गरिने छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्र विद्युतीय बस ल्याएर काठमाडौं भित्र गुडाउने तयारीका साथ काम भइरहेको तुलाधारले बताए ।
‘हामीले कोभिडका कारण पनि अलि बढी समय दिएका हौँ, अब सम्झौता भएपछि तीव्रगतिमा आयात गर्ने, चार्जिङ स्टेसन बनाउने, पूर्वाधारका काम हुने छ,’ उनले भने ।