काठमाडौं । बुद्ध एयरले माउन्टेन फ्लाइट पुनः सुरु गरेको छ । पछिल्लो समय कोरोना संक्रमण घट्दा पर्यटकीय गतिविधि बढेसँगै बुद्धले पुनः माउन्टेन फ्लाइट शुरु गरेको हो ।
बुद्धले करिब ६ महिनापछि माउन्टेन फ्लाइट सुरु गरेको हो । कोरोनाका कारण वैशाख यता माउन्टेन फ्लाइट रोकिएको थियो ।
दशैं, तिहार जस्ता चाडपर्वमा घुम्न जाने पर्यटकलाई लक्षित गर्दै कम्पनीले अफर समेत ल्याएको छ । यात्रुले एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने छन् ।
नेपाली पर्यटकका लागि टिकटको मूल्य ९ हजार ९९९ रुपैयाँ तोकिएको बुद्ध एयर जनाएको छ ।उक्त मूल्यमा थप २५५ रुपैयाँ (एयरपोर्ट सेवाशुल्क २०० र फेसशिल्डको ५५ रुपैयाँ) शुल्क लाग्ने छ ।
बुद्ध एयरका अनुसार हाल हरेक साता शनिबार माउन्टेन फ्लाइट हुनेछ । यात्रुको माग बढेमा आगामी दिनमा उडान थपिने कम्पनीले जनाएको छ ।
बुद्धले हाल ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट दैनिक १२० बढी उडान गर्दै आएको छ ।