काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बाबजूद चालु आर्थिक वर्षको बजेट पारित भएको छ ।
आज बसेको प्रतिनिधी सभाको बैठकले विनियोजन विधेयक बहुमतले पास गरेको हो । अघिल्लो सरकारले जेठ १५ मा अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक बैठकबाट बहुमतले पारित भएको हो ।
विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेश गरको विधेयक वहुमत सांसदले पारित गरेका हुन् । छलफलका क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खर्च कटौती सम्बन्धी प्रस्ताव राखे पनि त्यो स्वीकृत हुन सकेन ।
संसदबाट विधेयक पारित भएसँगै आजदेखि सरकारलाई खर्चको बाटो खुलेको छ । भदौ ३० गतेभित्रै पारित हुनुपर्ने विधेयक पारित नहुँदा चारदिनदेखि सरकारले बेखर्ची भएको थियो ।
प्रतिधिसभाबाट पारित भएसँगै उक्त विधेयक अब राष्ट्रिय सभामा पेश हुने छ । राष्ट्रिय १५ दिनभित्र स्वीकृति नदिएमा स्वतः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जाने छ ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्बको बजेटलाई घटाएर अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्बको बनाएका थिए ।