‘नेपालमा ब्याजदर र सेयर बजार बीच सम्बन्ध छैन, अब घट्न रोकिन्छ’

काठमाडौं । हालसम्मकै उच्च ३२०० अंकसम्म पुगेको नेप्से परिसूचक केही हप्ताको अन्तरालमै २७५० हाराहारी आइपुगेको छ । छोटो समयको यो तीव्र घटाइलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

 

कतिपय लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाका गरेको कडाइको परिणाम भन्न थालेका छन् । राष्ट्र बैंकले कुनै व्यक्तिले एउटा बैंकबाट बढीमा ४ करोड र अन्य संस्थाबाट समेत गरी कुल १२ करोडभन्दा ऋण लिन नपाउने व्यवस्था गरेको थियो । हाल सोही व्यवस्थाका कारण बजार घटेको लगानीकर्ताहरूको विश्लेषण गर्ने गरेका छन् ।

 

अर्काथरी लगानीकर्ता भने बजार बढ्नु र घट्नु सामान्य भएको बताइरहेका छन् । १२०० हाराहारीबाट बढेर ३२०० पुगेको बजारमा ४÷५ सय अंकको करेक्सन आउनु सामान्य भएको उनीहरूको बुझाइ छ ।

 

केहीले पछिल्लो समय बढ्दै गएको ब्याजदरका कारण सेयर बजार घट्न थालेको बताउन थालेका छन् । पछिल्लो समय बैंकहरूले मुद्दती निक्षेपमा १० प्रतिशत भन्दा बढी ब्याजदर दिन थालेका छन्, बजारमा भएको तरलता अभावका कारण । सामान्यत ब्याजदर र सेयर बजार बीच नकारात्मक सम्बन्ध हुन्छ ।

 

तर, नेपालको सेयर बजारमा ब्याजदर र नेप्से परिसूचक बीच खासै सम्बन्ध नहुने सेयर विश्लेषक एवं पूर्व बैंकर अनलराज भट्टराई बताउँछन् । ‘सेयर बजार र बैंकको ब्याजदर घट/बढ बीच खासमा केही पनि सम्बन्ध छैन । हामीकहाँ ऋण लिएर सेयरमा लगानी गर्र्ने भनेका जम्मा ८ हजार लगानीकर्ता मात्र छन् । अब ब्याजको कारणले नै स्टक मार्केट तलमाथि जान्छ भन्ने छैन । पहिले कम लगानीकर्ता थिए । त्यसमा धेरैले ब्याज लिएका हुन्थे । उनीहरूको ब्याजदर तलमाथि हुँदा असर पथ्र्यो,’ उनले भने ।

 

अहिले नेपालमा ४२ लाख डिम्याट अकाउन्ट भएको र ८/९ लाख मान्छे कारोबारमा सक्रिय रहेको उनको भनाइ छ । ‘अहिले पनि कर्जा नपाएको अवस्था होइन । फिक्स डिपोजिट,क्रेडिट कार्डमा पनि कर्जा बढी राखेकै छ । ब्याजदर बढ्यो अब सेयरमार्केट घट्छ भन्ने एउटा नेपालमा बुझाइ छ । ४२ लाख डिम्याट खाता छ । ३२ लाखको मेरो सेयर खाता छ भने ८ लाख सक्रिय कारोबार गर्छन् । अब ८ हजारजनाले गर्दा बजार घट्यो भन्नु त्यति उपयुक्त हुँदैन,’ उनी बताउँछन् ।

 

अहिले वित्त बजारमा देखिएको तरलता अभावले पनि कतिपय लगानीकर्तालाई अत्याएको छ । मानिसहरूले यो तरलता अभाव कहिलेसम्म जाने हो त्यसको भेउ पाउन सकेका छैनन् । तर बैंकरहरूदेखि विश्लेषकहरू भने अहिलेको तरलता अभाव लामो समय नजाने बताउँछन् । अहिलेको तरलता अभाव सामान्य भएको उनीहरूको बुझाइ छ ।

 

‘दशैंको समयमा मानिसको आवतजावत हुने, खर्चको माग पनि बढ्ने हुँदा धेरै कर्जाको माग हुन्छ जसकाकारण यो समयमा सधैं नै तरलताको दबाब हुन्छ । यो समयमा बैंकमा धेरै नयाँ नोटहरू साटिने हुँदा पूरै रकम १०/१५ दिन होल्ड भएर बस्छ, जुन तिहार पछाडि आउन थाल्छ । यो सामान्य प्रकृया हो, अहिलेको समयमा सधैं यस्तै भइ नै रहन्छ,’ एक बैंकरले भने ।

 

बैंकहरूले विभिन्न कम्पनीको सेयरमा मात्रै करिब २ सय अर्ब लगानी रहेको छ । त्यो लगाानी पहिले सजिलै क्यास हुने पैसा थियो । अब त्यो सेयर कर्जा विक्री गर्न नपाउने भएपछि २ सय अर्ब त्यहाँ ब्लक भयो र त्यसका कारण पनि तरलतामा केही चाप देखिएको विश्लेषकहरूको धारणा छ ।

 

राष्ट्र बैंकले जहिल्यै नीति ल्याउँदा त्यसको बहुपक्षीय असर कस्तो पर्छ भनेर हेक्का राख्ने नगरेको सेयर लगानीकर्ताहरूको गुनासो छ । ‘नीतिगत व्यवस्था नै गलत भयो । एउटा सोच गरेर नीति बनाइयो तर अर्कोमा त्यसको असर के पर्छ भन्ने सोच राखिएन । राष्ट्र बैंकले नीति तर्जुमा गर्दा गर्दाखेरी भविष्यलाई अनुमान गरेर वर्तमान स्थिति केलाउनु पर्छ । वित्तीय स्थायित्व भनेको ठूूलो कुरा हो । यसपाली बैंकको ब्याजदर अचानक बढ्ने सम्भावना थियो । तर, त्यसलाइ व्यवस्थापन गर्न सकिन्थ्यो,’ सेयर लगानीकर्ता नरेश पोखरेल बताउँछन् ।

 

‘मार्केट अब यो लेभलमा तलमाथि नै भइरहन्छ । धेरै तल जाने सम्भावना देखिँदैन । यो हप्तापछि सेयर बजारमा विक्रीकर्ता कम हाबी हुन थाल्छन् । । बजार अब धेरै घट्ने सम्भावना देखिँदैन,’ पोखरेलले भने ।

 

सेयर बजारमा पहिरो जारी, देखिएन सम्हालिने छाँट Read Previous

सेयर बजारमा पहिरो जारी, देखिएन सम्हालिने छाँट

एमालेको नाराबाजी बीच बजेट पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो Read Next

एमालेको नाराबाजी बीच बजेट पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो