काठमाडौं । हास्य कलाकारका रूपमा चर्चित भएको जोडी धुर्मुस र सुन्तलीले फाउन्डेसन मार्फत चितवनमा बनाउँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकेको जनाएको छ ।
हालसम्म करिब ५० करोड रुपैयाँ बराबरको काम भएको फाउन्डेशनले जनाएको छ । जसमा करिब ३६ करोड रूपैयाँ चन्दा उठाएर र बाँकी १६ करोड रूपैयाँको उधारोमा गरिएको हो । हाल निर्माण सामग्री खरिद गर्दाको १६ करोड ऋण तिर्न बाँकी रहेको फाउण्डेशनले जनाएको छ ।
आशा गरे अनुसार चन्दा उठ्ने अवस्था नदेखेका कारण फाउन्डेशनले सरकारले आर्थिक सहयोग नगरेसम्म रङगशाला निर्माणको काम रोकेको जनाएको छ । २०७२ सालको भूकम्प पछि नासिएका केही बस्तीको निर्माण गर्दै धुर्मुस र सुन्तली भौतिक पूर्वाधारको क्षेत्रमा प्रवेश गरेका थिए । उनीहरूले ५ करोड रूपैयाँ चन्दा उठाएर सिन्धुपाल्चोकमा ६५ वटा घर बनाएका थिए भने त्यसपछि तराईको मुसहर वस्तीमा पनि केही घरहरू बनाए ।
राष्ट्रिय आवश्यकताका वा सार्वजनिक चासोका भौतिक पूर्वाधार राज्यले बनाउँछ । वा, नाफामूलक भए निजी क्षेत्रले पनि बनाउला । कुनै बेला विदेशी दातृ निकायहरूले पनि बनाइदेलान् । सहकारी मोडलमा पनि बन्न सक्ला ।
भूकम्पको समयमा घर भत्केर धेरै मानिसहरू घरबारविहीन भएको र सरकारले तदारुकताका साथ उनीहरूको पुनर्वासको व्यवस्था गर्न नसक्दा धुर्मुस र सुन्तलीले बनाएका केही घरहरूले सकारात्मक प्रतिक्रिया पनि पायो । मान्छे घरबारविहीन भएको र एउटा निकै ‘अर्जेन्सी’को समयमा त्यो काम ‘ठीकै हो’ भन्ने पनि भयो । उठाउनपर्ने रकम पनि तुलनात्मक रूपले सानै थियो ।
तर यसबारे उनीहरू यसरी हौसिए कि दान दातव्यबाटै देशमा आवश्यक ठूला भौतिक पूर्वाधारहरूको निर्माण गर्न कस्सिए । अर्बौं रूपैयाँका परियोजनाहरू बनाउने सपना देख्न थाले । रङगशाला अघि उनीहरू कुनै ‘लिटिल नेपाल’ नामको ठूलो परियोजना बनाउन पनि तातेका थिए क्यारे । उनीहरूले आफ्नो सीमितता बुझेनन् र कुनै पनि देशमा आवश्यक भौतिक पूर्वाधार गर्ने कसैको विशिष्ट दायित्व हुन्छ र त्यसको ठोस विधि र प्रक्रिया हुन्छ भन्ने सामान्य तथ्यबाट पनि उनीहरू उदासीन रहे ।
नेपाल राज्यको अप्रभावकारीताको फाइदा उठाउँदै यसरी सस्तो लोकप्रियता कमाउने उद्देश्यका साथ काम गर्ने परिपाटी नेपालमा नौलो होइन । यसअघि पनि अष्ट्रेलिया तिर कुनै सरसफाइ गर्ने एउटा कम्पनी चलाएर बसेका एकजना एनआरएनले करिब ३ महीना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ गरेर निकै ख्याती कमाएका थिए ।
वास्तवमा विमानस्थल सरसफाइ गर्ने काम विमानस्थलको व्यवस्थापनको थियो । उनीहरूले अहिलेको आधुनिक प्रविधिबाट सफाइ गर्नुपर्ने आवश्यकता महशुस गरेका भए त्यही कम्पनी वा अर्को कुनै कम्पनीलाई केही समयको लागि कन्सलटेन्टको रूपमा राख्न नसकिने थिएन ।
तर, देशको फोहोर विमानस्थल सफा गरिदिएर देशलाई ‘गुन लगाएको’ भन्ने हाउभाव प्रकट गर्दै वा कतिपय ठाउँमा देश कसरी बनाउनुपर्छ भन्ने विषयमा प्रवचन नै दिँदै ती एनआरएन आफ्नो बाटो लागे । अन्ततः सार्वजनिक सन्देश कस्तो गयो भने ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत नेपाल सरकारका निकायहरूसँग आफ्नो विमानस्थल सफा गर्ने ह्याउ समेत रहेनछ भन्ने !’
धुर्मुस र सुन्तलीको सन्दर्भमा पनि कुरा यही हो । देशमा राष्ट्रिय आवश्यकताका भौतिक पूर्वाधारहरू बनाउँदा त्यसको ठोस प्रयोजन हुन्छ र त्यसैका आधारमा त्यो निर्माण कार्यको निश्चित प्रक्रिया हुन्छ ।
राष्ट्रिय आवश्यकताका वा सार्वजनिक चासोका भौतिक पूर्वाधार राज्यले बनाउँछ । वा, नाफामूलक भए निजी क्षेत्रले पनि बनाउला । कुनै बेला विदेशी दातृ निकायहरूले पनि बनाइदेलान् । सहकारी मोडलमा पनि बन्न सक्ला ।
तर, दान–दातव्यबाट वा सप्ताह-पुराणबाटै राष्ट्रिय आवश्यकताका भौतिक पूर्वाधारहरू बनाउने यो कस्तो मोडेल हो ? नेपालले तीन खम्बे आर्थिक नीति अवलम्बन गरेको छ । राज्य, निजी क्षेत्र र सहकारी । दान–दातव्य कुन क्षेत्र हो ?
दान–दातव्य र सस्तो लोकप्रियतावाला मोडेल हुर्केर यहाँसम्म आइपुग्नै नपर्ने हो । तर यो यहाँसम्म आइपुग्यो । धुर्मुस र सुन्तलीले यो कहीँ नभएको हावादारी मोडेल यहाँसम्म ल्याइपुर्याए । यसका केही महत्वपूर्ण कारण छन् ।
दान–दातव्यबाट सामुदायीक स्तरमा केही सानातीना योजनाहरू मानिसहरूले बनाउन सक्लान् । तर यहाँ त कुरा राष्ट्रिय आवश्यकताको र अर्बौं रूपैयाँ लागतको भौतिक पूर्वाधारको पो छ त !
दान–दातव्य र सस्तो लोकप्रियतावाला मोडेल हुर्केर यहाँसम्म आइपुग्नै नपर्ने हो । तर यो यहाँसम्म आइपुग्यो । धुर्मुस र सुन्तलीले यो कहीँ नभएको हावादारी मोडेल यहाँसम्म ल्याइपुर्याए । यसका केही महत्वपूर्ण कारण छन् ।
पहिलो कारण हो, नेपालीहरूको अत्याधिक ‘विकास’ मोह । मनिसहरूलाई छिटो विकास चाहिएको छ । र, उनीहरूको विकासको बुझाइ धनी देशहरूमा झैं ठूला र आकर्षक भौतिक पूर्वाधारको निर्माणमा पुगेर अड्किएको छ । मानिसहरूलाई ठूला भौतिक पूर्वाधारको ठूलो धङधङी छ । त्यही धङधङी र बतासे विकास मोहको वैैशाखी चढेर धुर्मुस र सन्तलीले पैसा उठाए । ३५ करोड रूपैयाँ उठाए । त्यो अहिले आफ्नो सीमामा पुग्यो र थान्को लाग्यो ।
दोस्रो कारण हो राज्यको अप्रभावकारीता । नेपाल राज्य आवश्यक भौतिक पूर्वाधारको निर्माणको सन्दर्भमा मात्र नभएर करिब–करिब सबै क्षेत्रमा अप्रभावकारी छ । राज्य यसरी अप्रभावकारी हुँदा त्यसको फाइदा उठाउँदै केही प्रवृत्तिहरू आफूलाई प्रणालीको विकल्पको रूपमा प्रस्तुत गर्छन् (वास्तवमा नागरिक दायित्व भनेको राज्यलाई प्रभावकारी बनाउन दबाब दिने हो) ।
कसैले हतियारको बलमा डरको माध्यमबाट आफूलाई विकल्पको रूपमा प्रस्तुत गर्छन् भने कसैले मानिसहरूको भावनामा खेलेर आफूलाई विकल्पको रूपमा प्रस्तुत गर्छन् ।
हतियार उठाएर डरको माध्यमबाट प्रणालीको विकल्पमा आफूलाई प्रस्तुत गर्नेले मानिसहरूको भौतिक सफाया गर्छ भने भावनामा खेल्नेले मानिसहरूको विवेकसँग खेल्छ । मान्छेलाई भौतिक रूपमा मार्नु वा विवेकशून्य बनाउनु करिब करिब उस्तै हो । विवेकशून्य मानिस जिउँदो लास न हो !
यसरी मानिसहरूको विवेकसँग खेल्ने, आधुनिक राज्यको आधारभूत भूमिकाको न्यूनीकरण गर्ने, लोकतान्त्रिक हक अधिकारले सुसज्जित नागरिक दायीत्वको गलत व्याख्या गर्ने एउटा हावादारी प्रविृत्ति थान्को लाग्नु आधुनिक राज्यको अवधारणा प्रति सचेत नागरिकहरूका लागि निकै सुखद घटना हो ।
अहिले उनीहरूले सरकारसँग आर्थिक सहयोग मागेका छन् । सरकारले त्यहाँ आर्थिक सहयोग दिनेभए त्यसको स्वामित्व आफैं लेओस् र आफैं बनाओस् । धुर्मुस र सुन्तली घर फर्किउन् ।