काठमाडौं । नेपालको चर्चित एवं ‘सफल’ मानिएको रेष्टुरेन्ट चेन बाजेको सेकुवा अब नयाँ स्वरूपमा आउने भएको छ । कम्पनीले अहिले आफ्नो ‘रि ब्राण्डिङ’को काम तीव्र गतिमा अघि बढाइरहेको छ ।
यसका लागि कम्पनीले आफ्नो पुरानो ‘लोगो’मा पनि सामान्य परिर्वतन गरेको छ भने मेनुदेखि लिएर रेष्टुरेन्टको आन्तरिक सजावटमा पनि नयाँपन ल्याउने भएको छ । यसका साथै कम्पनीले कर्मचारीहरूले लगाउने पोशाक पनि परिर्वतन गरेको छ ।
४० वर्ष अघि खसीको मासुको सेकुवा बेचेर शुरू भएको यो कम्पनी करिब एक दशक अघि आधुनिक चेन रेष्टुरेन्टको ब्राण्डका रूपमा स्थापित भएको थियो ।

कम्पनीले ‘रि ब्राण्डिङ’ देखि लिएर रेष्टुरेन्टलाई चुस्त ढंगले व्यवस्थापन गर्नका लागि विदेशबाट अनुभवी प्रमुख कार्यकारी पनि ल्याएको छ । हाल कम्पनीले आफ्नै स्वामित्वमा ४ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ भने अन्य ९ वटा रेष्टुरेन्टहरू ‘फ्रान्चाइच’ मोडमा सञ्चालन गरिरहेको छ । जसमा दुई वटा अमेरिकामा संचालित छन् ।
आगामी दिनमा कम्पनीले ‘रि ब्राण्डिङ’ गर्नुका साथै रेष्टुरेन्टका शाखाहरू पनि देशभर विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले काठमाडौं उपत्यका बाहिरका विभिन्न ७ स्थानमा शाखा विस्तारका लागि सम्झौता समेत गरिसकेको छ । कम्पनीले पहिलो चरणमा पूर्वका विराटनगर र इटहरी अनि पश्चिमका धनगढी र नेपालगञ्जमा शाखा विस्तार गर्न लागेको हो । पूर्व र पश्चिम दुवै क्षेत्रमा कम्पनीले ‘सेन्ट्रल किचेन’ पनि बनाउने भएको छ ।

‘समयको माग अनुसार अब हामी रेष्टुरेन्टलाई फरक ढंगले ग्राहकहरू समक्ष ल्याउँदै छौं,’ प्रमुख कार्यकारी नेपोलियन विश्वजीत पटनायकले चाणक्य पोष्टसँग भने, ‘यसका लागि हामीले मेनुमा पनि परिर्वतन गर्न लागेका छौं ।’
कम्पनीले मेनुमा परिर्वतन ल्याएपनि आफुले परम्परागत रूपमा बेच्दै आएको खसीको मासुका ‘आइटम’हरूलाई भने यथावत नै राख्ने बताएको छ । ‘सेकुवा लगायत अन्य खसीका मासुका आइटम यथावत राख्दै केही नेपाली परम्परागत खानादेखि लिएर ‘मेन कोर्स’का लागि केही भारतीय आइटमहरू पनि थप गर्ने योजना हामीले बनाएका छौं,’ पटनायकले भने ।

कम्पनीले नेपालका करिब १६० जातजातीका परम्परागत खानाहरूलाई पनि आफ्ना मेनुमा स्थान दिने भएको छ । सिस्नुको सुप, छुर्पीको सुप, पूर्वेली खाना सेट जस्ता केही नयाँ परिकारहरू पनि अब बाजेको सेकुवाको मेनुमा अटाउने भएका छन् ।
‘यसका लागि हामी अहिले सघन ढंगले अनुसन्धान गर्ने काम गरिरहेका छौं । हामीले अनुसन्धानको लागि मात्र १२ जना सेफहरूको टोली खटाएका छौं,’ पटनायकले भने ।

मेनुका अलावा खानाको प्रस्तुतीकरण र ‘कटलरी’मा पनि बाजेको सेकुवाले व्यापक परिर्वतन गर्ने भएको छ । विभिन्न आकर्षक भाडाँकुडाँहरूमा खाना सजाएर पस्कने कम्पनीको योजना रहेको छ ।
कम्पनीले आफ्नो मेनुमा नर्वेजियन सालमोन, मटन चप जस्ता कन्टिनेन्टल खानाहरूलाई पनि स्थान दिन लागेको छ । साथै, कम्पनीले ककटेल र मकटेलमा पनि नयाँ प्रयोगहरू गर्न लागेको जनाएको छ ।

‘हामीले पहिला सामान्यरूपमा ४० वर्ष माथीका ग्राहक केन्द्रित भएर मेनु डिजाइन गरेका थियौं भने अबका दिनमा युवापुस्तालाई पनि आकर्षित गर्ने योजना हामीले बनाएका छौं,’ पटनायकले भने ।
अहिले बाजेको सेकुवामा डिनरको ‘अप्सन’ नभएका कारण केही भारतीय ‘करी’हरू पनि मेनुमा समावेश गर्न लागेको छ । तर, यी सबै परिकारहरू नेपाली स्वादसँग ‘फ्युजन’ गरिने कम्पनीको दाबी छ ।

हाल बाजेको सेकुवाका सबै आउटलेटहरू, सेन्ट्रल किचेनदेखि कर्पोरेट अफिसमा गरेर हजारभन्दा बढीले रोजगारी पाएका छन् । यो संख्या अब अझै बढ्ने कम्पनीले जनाएको छ । ‘रि ब्राण्डिङ’ र विस्तारमा ‘राम्रै’ लगानी थप गर्न लागेको पनि कम्पनीले जनाएको छ ।