बाढीपछि तंग्रिएको बल्खु तरकारी बजार (फोटोफिचर)
चाणक्य पोष्ट
प्रकाशित : 9:08 am, बुधबार, भदौ ३०, २०७८

Advertisement Section

काठमाडौं । भदौ २१ गते बिहानपख आएको बाढीले बल्खु स्थित तरकारी बजार चुर्लम्म डुब्यो । कल्पना नै नगरिएको ठाउँमा बाढी पसेपछि दुई दिनसम्म बल्खु तरकारी बजार खोलाको बगर जस्तै बन्यो । एकै छिनको बाढीले २ करोड बराबरको क्षति भयो ।

 

बाढीले तहसनहस भएको तरकारी बजार एकसातापछि अहिले बौरिएर पहिकै अवस्थामा आएको छ । बजारमा पहिलाको जस्तै तरकारीले भरिभराउ भएको छ । व्यापारीहरु तरकारी भित्र्याउन र बेच्न व्यस्त छन् ।

“कल्पना नै नगरेको ठाउँमा बाढी आएर २ करोड बढीको बराबरको क्षति भयो, अझै पनि हामी क्षतिको विवरण निकाल्नै क्रममै छौं, तर बजार भने पहिलाकै अवस्थामा आइसकेको छ,” बल्खु तरकारी बजार संचालक मोहन बस्नेतले चाणक्य पोष्टसँग भने ।

 

बस्नेतका अनुसार किराना पसल, गाडी र थोक सामानको मात्र मूल्याङ्कन गर्दा २ करोड बराबरको क्षति भएको हो । बाढीको कारण गाडीमा समेत धेरै क्षति पुगेकाले एउटै गाडी बनाउन ५ लाख रुपैयाँ सम्म लाग्ने भएकाले विमाका मान्छे आफै आएर क्षतिको संकलन गर्दै गरेको बस्नेतले बताए ।

बाढीसँगे आएको लेदोले सवारीसाधन, आलुप्याजको गोदाम, किरानका गोदाम र ताजा तरकारीमा समेत नष्ट गरेको उनले बताए । ‘दुई दिनसम्म बजार भित्र हिलाम्मे भएकाले तरकारी बेच्न सकिएन, त्यो सफा गर्न अर्को २३ दिन लाग्यो । एकसाताा पछि बल्ल व्यापार शुरु गरेका छौं,’ बस्नेतले भने ।

तरकारी आयात घट्यो

 

बल्खु सरकारी बजारमा विगतको तुलनामा अहिले तरकारी आयात घटेको छ । तरकारी बजारहरु धेरै ठाउँमा खुलेको र कोरोना कहरको कारण पनि तरकारी खपत कम भएकाले तरकारी समेत कम भएकाले आयात कम भएको बस्नेतले बताए । दैनिक ४०० टन तरकारी आयात हुने बल्खुमा हाल (आलु प्याज बाहेक) दैनिक ३०० टनको हाराहारीमा मात्र तरकारी आयात हुने गरेको छ ।

काठमाडौंमा दैनिक कुल ११०० टन तरकारी खपत हुने बताइएको छ । जसमध्ये कालीमाटी तरकारी बजारले ६० प्रतिशत र बल्खु तरकारी बजारले ४० प्रतिशत तरकारी तरकारी खपत गर्ने गरेको थियो, तर काठमाडौंमा तरकारी बजार दिनानुदिन बढ्दै गएकाले कुन  बजारबाट कति  खपत हुन्छ भन्ने एकीन नभएको बस्नेतले जानकारी दिए ।

 

प्रविधि नहुँदा गोलभेँडा नष्ट

 

बाढीका कारण लाखौंको गेलभेँडा नष्ट भयो । तर, प्रविधि भएको भए उक्त गोलभेँडा प्रयोग गरी केचप बनाउने सकिने बस्नेत बताउँछन् । ‘हामीसँग प्रविधि र उपकरण नभएर बाढीले डुबेका गोलभेँडा पनि नष्ट गर्नुपर्यो । यदि हामीसँग मेसिन थियो भने उक्त गोलभेँडाबाट केचप बनाउन सकिन्थ्यो,’  बस्नेतले भने ।

प्रतिकिलो १० रुपैयाँमा समेत विक्री नभएपछि आफैले खोलामा फ्याल्नु पर्ने अवस्था सिर्जना भएको तीतो अनुभव उनले सुनाए । आकाशबाट परेको पानी जमिनले सोस्न नसक्ने अवस्था भएकाले बाढीले यो वर्ष उग्र रुप लिएको उनको बुझाइ छ ।

 

‘खाली जमिन कतै छैन, भएका जमिनमा प्लास्टर गरेकाले आकाशबाट परेको पानी जमिनले सोस्न नसक्दा नदिमा पानीको बहाव बढेको हो,’ उनले भने, ‘यसको लागि सरकारले दीर्घकालीन योजना बनाएर बेलैमा कार्यान्वयन गर्नुपर्छ । नत्र आगामी दिनमा योभन्दा ठूलो क्षति बेहोर्नु पर्ने दिन आउन सक्छ ।’

काठमाडौं महानगरले आकाशबाट परेको पानी जमिनमै सोस्न सक्ने हुनुपर्छ भनेर ल्याएको रिचार्ज काठमाडौं कार्यक्रमको प्रभावकारीता न्यून रहेको छ ।

 

Advertisement Section