चाबहिल–साँखु सडक विस्तार चालू वर्षमा सम्पन्न हुने

काठमाडौं । चाबहिल–साँखु सडक विस्तार आयोजना यही आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । सुरु भएको ५ वर्ष बितीसक्दा समेत सो सडक विस्तार आयोजना विभिन्न कारणले सम्पन्न हुन सकेको छैन ।

 

कुल लम्बाई ११.४६ किलोमिटर सडकखण्ड रहेको चाबहिल–साँखु सडकमा स्थानीय बासिन्दाको विरोधका कारण पटक पटक अवरोध भएको थियो ।

 

२०७२ असोज १३ गते ठेक्का सम्झौता भएको सो सडक खण्ड ५ वटा कम्पनीलाई विस्तारका लागि दिइएको छ । उक्त खण्डमा ४० देखि ६५ प्रतिशत सम्मको काम सम्पन्न भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ ।

 

उक्त सडक २०७५ पुष सहिना भित्र विस्तार सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि हालसम्म म्याद थप हुँदै काम भइरहेको छ । विभागका प्रवक्ता विश्व विजय लाल श्रेष्ठले यो पटक भने चाबहिलको काम सम्पन्न गरिने दाबी गरे ।

 

उनले चाबहिलमा मुख्य समस्याका रुपमा रहेको खानेपानीको पाइप हटाउनका लागि समेत ठेक्का आवहान गरिएकाले सो सडक विस्तार यही आव भित्र सकिने बताएका हुन् ।

 

‘चाबहिल–साँखुको मुख्य समस्या भनेको चोक हो, त्यहाँ पाइपको समस्याले जती काम गरेनी फेरी भत्कीने गथ्यो, अब हामीले त्यहाँको पाइप फेर्न ठेक्का आवहान गरेका छाैं, छिट्टै त्यो काम सम्पन्न गरी सडकको काम पुरा गर्ने छाैं,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

सो सडक विस्तार २०७६ पुष भित्र सम्पन्न गर्ने सम्झौतामा नयाँ म्याद उल्लेख भए पनि यो आवको अन्तिमसम्ममा सम्पन्न गरी आयोजनाले जानकारी दिएको छ ।

 

हालसम्म सो सडक विस्तारको क्रममा ९५ करोड ४६ लाख ८६ हजार रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले सडकलाई पाँचवटा प्याकेजमा ठेक्का लगाएर गरेर विस्तारको काम अघि बढाएको थियो । चाबहिलदेखि दक्षिण ढोकासम्मको सडक १० मिटर चौडाई र दक्षिण ढोकादेखि साँखुसम्म ६ मिटर चौडाईको थियो ।

 

आयोजनाले यो सडक २२ मिटरमा विस्तार गर्न ठेक्का लगाएको थियो । त्यसका लागि १६ मिटरसम्म सडक खाली गर्नुपर्ने अवस्था थियो । सडक विस्तार गर्दा ठूलो संख्यामा भौतिक संरचना भत्काउनुपर्ने अवस्था थियो । स्थानीय आफ्नो घर भत्काएर सडक विस्तार गर्ने पक्षमा थिएनन् । स्थानीयको चर्को विरोधले आयोजनाले सडक विस्तारका लागि आवश्यक जग्गा विकास गर्न सकिरहेको थिएन ।

 

२२ मिटर चौडाईको सडक निर्माण गर्ने भनेर डिजाइन भएको र ठेक्का लागिसकेको अवस्था थियो । सडक विस्तारका लागि आवश्यक जग्गा उपलब्ध हुन नसक्दा निर्माणले तीव्रता पाउन सकेको थिएन ।

 

स्थानीयले सडक विस्तार गर्दा सुकुम्बासी हुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालले सडक विस्तार गर्ने क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा र भत्किने भौतिक संरचनाको उचित मूल्य दिन आदेश दिएको थियो । उक्त सडक विस्तार गर्न १ अर्ब ७३ करोड ५४ लाख रुपैयाँको ठेक्का लगाइएको थियो ।

 

मुआब्जा रकम सो भन्दा कयौं गुणा बढी हुने सडक विभागको ठम्याइ थियो । मुआब्जा दिएर सडक विस्तार गर्दा राज्यलाई थप आर्थिक भार हुने अवस्था भयो । साढे २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी चाबहिल–साँखु सडकखण्ड विस्तार प्रक्रिया अघि बढाइएको थियो ।

 

मुआब्जा विवाद, मेलम्ची खानेपानी आयोजनाको पाइपलान विस्तार, टेलिफोनरबिजुलीको पोल, ढललगायत समस्या सम्बोधन हुन सकेको छैनन् । सडक निर्माण गर्न खनिएका खाल्डाका कारण सवारीसाधनको आगमनमै समस्या भइरहेको छ ।

 

कार्यालय समयमा सार्वजनिक यातायातको प्रयोग गर्ने सर्वसाधारणको दैनिकी निकै कष्टकर बन्दै गएको छ । निजी सवारीसाधन हुने र केही सार्वजनिक यातायात जोरपाटीको वागमती पुलको किनार हुँदै यात्रा गर्न बाध्य भएका छन् ।

सेयर बजारको ओरालो यात्रा कायमै, लगानीकर्ता थप मर्कामा Read Previous

सेयर बजारको ओरालो यात्रा कायमै, लगानीकर्ता थप मर्कामा

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट Read Next

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट