दशैंका लागि खाद्य विभागले ३ हजार खसी च्याङ्ग्रा ल्याउने

काठमाडौं । यसवर्ष दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब ३ हजार खसी-च्याङग्रा खरिद गर्ने भएको छ ।

 

खाद्य कम्पनीले विगतमा झैं बजारमा खसी-च्याङग्रा अभाव नहोस् र सर्वसाधरणलाई केही सहुलियत मिलोस् भनेर यसवर्ष पनि उक्त संख्यामा खसीच्याङग्रा ल्याउन लागेको हो ।

 

कम्पनी आफैंले किसानबाट किनेर ल्याएर उपभोक्तालाई बजार मूल्यभन्दा केही सहुलियतमा बेच्ने गरेको छ । खाद्य कम्पनीकी सूचना अधिकारी सर्मीला न्यौपानेले करिब ३ हजार खसी-च्याङ्ग्रा ल्याइने भए पनि कहाँबाट कति ल्याउने अझै निर्णय भई नसकेको बताइन् ।

 

उक्त विषयमा छलफल भइरहेकाले चाँडै खसी(च्याङ्ग्राको संख्या सहित सूचना निकालिने उनको भनाइ छ । उनले खसीको मूल्य कति हुने समेत खसी-च्याङ्ग्रा आयात पछि निश्चित हुने बताइन् ।

 

‘३ हजार हाराहारीमा खसी-च्याङ्ग्रा आयात गरिने छ, कहाँबाट कति ल्याउने अझै निर्णय भएको छैन, मूल्य खसी-च्याङ्ग्रा किन्ने प्रकृया पछि निश्चित हुन्छ,’ न्यौपानेले भनिन् ।

 

गत वर्ष दशैंमा खाद्य कम्पनीले १४ सय च्याङ्ग्रा र १६ सय खसी खरिद गरेको थियो । विगतमा खसी-च्याङग्रा घटस्थापनासम्म आइपुग्ने गरेको थियो । खाद्य कम्पनीले सधै नेपालगञ्ज, हेटौंडा, दाङ लगायतका ठाउँहरूबाट खसी खरिद गर्ने गरेको छ । यो पटक खसी कुन ठाउँबाट किन्ने निश्चित भइसकेको छैन । कुन ठाउँमा खसीको मूल्य कति छ त्यस अनुसार खरिद गर्ने स्थान निश्चित हुने उनले बताइन् ।

 

यस्तै, दशैंका लागि चौपाया खरिद विक्री संघले ३० हजारदेखि ४० हजार हाराहारीमा खसीबोका ल्याउने भएको छ । बजारमा सृजना हुने मागको अवस्था हेरेर ४० हजारसम्म खसीबोका ल्याउने तयारी भएको संघले जनाएको छ ।

 

पशु सेवा विभागले नेपालमा खसीबोकाको आन्तरिक उत्पादन बढ्दै गएसँगै खसी बोका आयात घट्न थालेको जनाएको छ । सरकारले मासुमा आत्मनिर्भर भएको घोषणा गरे पनि अझै केही खसीबोका भारतबाट ल्याइने गरेको व्यापारीहरु बताउँछन् ।

 

काठमाडैं उपत्यकामा दशैंका लागि मात्र साढे ६ लाख हाराहारी खसीबोका खपत हुने गर्दछ ।

असोज ६ गतेदेखि साहस ऊर्जाको आइपीओ खुल्ने, कति कित्ता भर्न पाइन्छ ? Read Previous

असोज ६ गतेदेखि साहस ऊर्जाको आइपीओ खुल्ने, कति कित्ता भर्न पाइन्छ ?

बंगलादेशले २०४० सम्म नेपालबाट ९ हजार मेगावट बिजुली लैजाने Read Next

बंगलादेशले २०४० सम्म नेपालबाट ९ हजार मेगावट बिजुली लैजाने