काठमाडौं । साहस ऊर्जा लिमिटेडले असोज ६ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।
निष्काशन हुने कुल सेयरमध्ये २ लाख १० हजार कित्ता (३ प्रतिशत) कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता (५ प्रतिशत) सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको छ ।
कम्पनीको आइपीओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज २० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाका साथै मेरो सेयर कमर्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन २९ देखि आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयालाई ३५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरिसकेको छ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ। कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
आयोजनाले हाल सोलुखुम्बुमा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।