बीमा कम्पनीको व्यापारमा सामुद्रिक बीमाको हिस्सा बढ्दै

MARINE-INSURANCE

काठमाडौँ । नेपालमा सामुद्रिक बीमा गर्ने चलन बढ्दै गएको छ । पछिल्लो समय वैदेशिक व्यापारमा आयातको हिस्सा बढेसँगै सामुद्रिक बीमाको हिस्सा पनि बढ्दै गएको हो ।

 

निर्जीवन बीमा कम्पनीहरूको व्यपारमा यसको हिस्सा बढ्दै गएको बीमा समितिको तथ्यांकले देखाएको छ । आार्थिक वर्ष २०७५/७६ को निर्जीवन बीमा कम्पनीको कुल व्यपारमा सामुद्रिक बीमाको हिस्सा ५.६३ प्रतिशत रहेकोमा आव २०७७/७८ आइपुग्दा बढेर ५.८६ प्रतिशत पुगेको छ ।

 

आर्थिक वर्ष २०७५/७६ मा निर्जीवन बीमा कम्पनीहरूले कुल २४ अर्ब २० करोड बीमा शुल्क आर्जन गर्दा सामुद्रिक बीमाबापत १ अर्ब ३६ करोड शुल्क आर्जन गरेका थिए । यो कुल व्यापारको ५.६३ प्रतिशत हिस्सा हो ।

 

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २६ अर्ब बीमा शुल्क आर्जन गर्दा सामुद्रिक बीमा बापत १ अर्ब ४९ करोड रुपैयाँ संकलन गरेका छन् । यो कुल व्यापार हिस्साको ५.७३ प्रतिशत हो ।

 

यसैगरी, गत आव २०७७/७८ मा ३१ अर्ब ७० करोड बीमा शुल्क आर्जन गर्दा १ अर्ब ८६ करोड रुपैयाँ सामुद्रिक बीमाबापत आर्जन भएको छ । गत वर्ष १ लाख ४४ हजार ३५ हजार सामुद्रिक बीमालेख जारी भएको समितिले जनाएको छ ।

 

विश्व बजारमा व्यापार विस्तार भएसँगै सामुद्रिक बीमा गर्ने चलन पनि बढ्दै गएको जानकारहरू बताउँछन् । छिमेकी मुलुकबाट मात्र नभई तेस्रो मुलुकहरूसँग पनि व्यापार बढ्दै गएकाले सामुद्रिक बीमा पनि बढ्दै गएको बीमा विज्ञ रवीन्द्र घिमिरे बताउँछन ।

 

‘बीमाको शुरुआत नै सामुद्रिक बीमाबाट भएको हो । अहिले एकदेशले विश्वभरका देशसँग व्यापार विस्तार गरेका छन् । यसले गर्दा सामुद्रिक बीमा गर्ने चलन बढ्दै गएको हो,’ उनले चाणक्य पोष्टसँग भने । व्यापारीहरूले सामान आयात/निर्यात गर्दा जोखिम व्यवस्थापनका लागि अनिवार्य रुपमा यस्तो बीमा गर्ने गरेको उनको भनाइ छ ।

 

व्यापारीहरुले बैंकको ऋण समेत लिएर सामान आयात गर्ने हुँदा सुरक्षणका लागि सामुद्रिक बीमा गर्ने गर्छन् । सामान ल्याउने देश, लाग्ने समय र सामानको प्रकृति अनुसार बीमा शुल्क फरक हुने गर्छ । बीमा कम्पनीहरुले सम्पूर्ण जोखिम, आधारभूत जोखिम र न्यूनतम् जोखिम कुन वहन गर्नेगरी बीमा गर्ने हो सोही अनुसार बीमाङ्कको ०.०४ प्रतिशतत देखि २ प्रतिशतसम्म शुल्क लिने गरेका छन् ।

 

किन गरिन्छ सामुद्रिक बीमा ?

 

एकठाउँबाट अर्को ठाउँमा मालसामान ओसापसार गर्दा हुने क्षतिबाट जोगिनका लागि सामुद्रिक बीमा गरिन्छ । विशेषगरी सामुद्रिक, हवाई र रेलमार्गबाट सामान ओसारपसार गर्दा मालवाहक साधन माथि हुने आक्रमण र दुर्घटनाबाट हुने सम्भावित क्षतिबाट जोगिन यस्तो बीमा गरिन्छ ।

 

आयातकर्ताले सामान ढुवानी गर्दा हुन सक्ने जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गरी सम्भावित खतराबाट जोगिन सामुद्रिक बीमा गर्दछन् ।

 

सामान ओसारपसार गर्दा हुनसक्ने क्षतिको भरणपोषणका लागि सामुद्रिक बीमा आवश्यक रहेको विज्ञ घिमिरे बताउँछन् । ‘सामुद्रिक बीमा नहुँदो होे त मानिसले सामान एक ठाउँबाट अर्को ठाउँ लैजाँदा सामान चोरी हुने, हराउने, दुर्घटना हुने सम्भावना हुन्छ, जसले अर्बौंको क्षति हुनसक्छ, उनले भने, ‘त्यसैले सम्भावित क्षतिबाट जोगिन सामुद्रिक बीमाको आवश्यकता महसुस गरिएको हो ।’ नेपाल जस्तो आयातमै निर्भर रहेको मुलकका लागि सामुद्रिक बीमा  नै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

 

के हो सामुद्रिक बीमा ?

 

एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसापसार गर्दा हुने क्षतिबाट जोगिनका गरिने बीमा नै सामुद्रिक बीमा गरिन्छ । मालसामान ढुवानी गर्दा सडकमार्ग, हवाईमार्ग, रेलमार्ग वा सामुद्रिकमार्ग प्रयोग हुन्छ ।

 

यी मार्गको प्रयोग गरी सामान ओसारपसार गर्ने क्रममा हुने दुर्घटना र सोबाट पुग्ने क्षतिबाट जोगिन गरिने बीमा सामुद्रिक बीमा हो । यस्तो बीमा गरेपछि हुने क्षतिको जोखिम बीमा कम्पनीहरुले वहन गर्दछन् । सामान आयात गर्दा चोरी भएमा, हराएमा, नष्ट भएमा त्यसको क्षतिपूर्ति बीमा कम्पनीहरुले बेहोर्नु पर्दछ ।

 

व्यापारीहरुले आयात/निर्यात गर्ने सामानको मूल्य अनुसार सामुद्रिक बीमाको शुल्क तिर्नुपर्छ । र, पछि नोक्सानी भएको बीमाङ्क रकम बराबर नै क्षतिपूर्ति पाउँछन् ।

 

नेपालमा यस्तो प्रकारको बीमाको अभ्यास विराटनगर जुटमिल स्थपना भएदेखि नै गर्दै आइएको बताइन्छ । नेपालबाट भारत र भारतबाट नेपालमा मालसामान ओसारपसार गर्दा बाटोमा हुने जोखिमबाट जोगिन वि.सं. १९९० दशकबाटै सामुद्रिक बीमा गर्न थालिएको थियो।

 

विश्वमा सामुद्रिक बीमाको शुरूआत युरोपमा १८ औं शताब्दीदेखि भएको थियो ।

अन्नपूर्ण आधारशिविर असोज पहिलो साताबाट खुल्ने Read Previous

अन्नपूर्ण आधारशिविर असोज पहिलो साताबाट खुल्ने

सरकारले २४ स्टील उद्योग मास्न खोजेको भन्दै व्यवसायीको आपत्ति Read Next

सरकारले २४ स्टील उद्योग मास्न खोजेको भन्दै व्यवसायीको आपत्ति