काठमाडौं । लमजुङमा जिल्लामा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थपिने भएको छ ।
दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ्याङ्दीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सो परिमाणको बिजुली थपिने भएको हो ।
उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो सातादेखि बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिए ।
उनले भने, ‘असोज पहिलो सातादेखि नै बिजुली उत्पादन हुन्छ ।’ विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको थियो । कोरोना सङ्क्रमणका कारण आयोजना एक वर्ष ढिला सकिएको हो ।
८० करोड ३५ लाख रुपैयाँको लागतमा बिजुली उत्पादन भएको प्रबद्र्धक कम्पनी छ्याङ्दी हाइड्रोपावरले जनाएको छ । सो आयोजनामा बैंक अफ काठमाडौँ र कुमारी बैंकको ७५ प्रतिशत ऋण रहेको छ ।
आयोजनाको बाँधस्थलबाट सर्जट्याङसम्म २ हजार ८७४ मिटर हेडरेस र सर्जट्याङबाट १हजार ३५६ मिटर पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी फालिएको छ । यहाँबाट उत्पादित बिजुली उदिपुर सवस्टेशनमा जोडिने छ ।
आयोजनाले २०७४ असार २२ गते नेपाल विद्युत् प्राधिकरणसँग पिपिए सम्झौता गरेको थियो । सो सम्झौता अनुसार बर्खायाममा प्रतियुनिट मूल्य ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ तोकिएको छ ।