काठमाडौं । चाडवाड नजिकिएसँगै बजारमा चिनीको कालोबजारी हुन थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँग स्टक चिनी सकिएपछि व्यापारीले मनलाग्दी भाउ बढाउन थालेका हुन् ।
एक महिनाअघि प्रतिकिलो ७८ रुपैयाँ रहेको चिनीको भाउ अहिले खुद्रा बजारमा ९५ रुपैयाँसम्म पुगेको छ । हाल साल्ट ट्रेडिङले डिलरहरुलाई प्रतिकेजी ७९ रुपैयाँमा चिनी विक्री गरिरहेको जनाए पनि उपभोक्ताले भने महँगो मूल्य तिर्नुपर्ने बाध्यता छ ।
सरकारी मातहतमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनीसँग भएको चिनी सकिन थाले लगत्तै व्यवसायीले चिनीको मूल्य वृद्धि गरेका हुन । हाल साल्ट ट्रेडिङसँग करिब ३०० मेट्रिकटन हाराहारीमा मात्र चिनी स्टक रहेको छ ।
चाडपर्वका बेला चिनीको अभाव नहोस र मूल्यमा अनियमितता हुन नदिनका लागि सरकारले प्रत्येक वर्ष साल्ट ट्रेडिङलाई चिनी खरिदका लागि बजेट विनियोजन गर्ने गरेको थियो । यो पटक सरकारको तर्फबाट चिनी खरिद गर्न कुनै पत्र नआएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारी बताए । ९ महिना अघि नै उद्योग, वाणिज्य तथा उपभोक्ता मन्त्रालय हुँदै अर्थमन्त्रालयसम्म पत्र पठाइएको छ ।
‘अहिलेसम्म चिनी किन्न भनेर मन्त्रालयहरुबाट कुनै निर्देशन आएको छैन, हामीले पत्र पठाएको हो, अब धेरै ढिला भइसक्यो,’ राजभण्डारीले चाणक्य पोष्टसँग भने ‘ अब चिनी ल्याउन भनेर निर्देशन आए पनि बोलपत्र खोलेर ठेक्का लगाएर आयात गर्न डेढदेखि २ महिना लाग्छ ।’
उद्योग मन्त्रालयले भने यस विषयमा केही बोल्न चाहेको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले मन्त्रालयमा पठाउनु पर्ने कागज पत्र पठाई सके पनि अर्थमन्त्रालयमा पुगेर अड्किएको बताए ।
‘हामीले हाम्रो तर्फबाट गर्ने पहल गरेका छौँ, उक्त पत्र वाणिज्य तथा उद्योग मन्त्रालय हुँदै अर्थमन्त्रालयमा होल्डमा रहेको भन्ने जानकारी आएको छ,’ सेढाइले चाणक्य पोष्टसँग भने ‘हामी हाम्रो ठाउँमा बसेर गर्नु पर्ने अनुगमन गर्ने छौँ, अनुचीत लागत मुनाफा गलत क्रियाकलाप गरेकालाई काड कारवाही गर्ने छौँ ।’
उनले चाडवाडको समयमा अभावको फाइदा उठाई उपभोक्तालाई मारमा नपार्न समेत अनुरोध गरेका छन् । अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले त्यस विषयमा हालसम्म कुनै निर्णय नभएको बताए । उनले मन्त्रालयमा पत्र आएपनि हालसम्म कुनै छलफल नभएको बताएका हुन् ।
‘उनीहरुले किन्ने भनेर माग पत्र दिएका हुन्, अहिलेसम्म निर्णय भएको छैन, निर्णय नभई आफुखुसी किनेर ल्याउन मिल्दैन,’ आचार्यले चाणक्य पोष्टसँग भने ।
८७ रुपैयाँभन्दा बढीमा बेचे कारबाही गर्छौं : विभाग
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य ८७ रुपैयाँ प्रतिकेजी भन्दा बढीमा विक्री गरे कारबाही गर्ने जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले विभागले बजारमा ८७ रुपैयाँ प्रतिकेजीभन्दा बढि मूल्यमा चिनी बेच्नेलाई तत्काल कारबाही गरिने बताएका हुन् ।
‘चिनीमा ८७ रुपैयाँ प्रतिकेजी भन्दा बढी मूल्य लिनेलाई हामीले कारबाही गर्ने छौँ, कतै भेटे खबर गर्नुस,’ सेढाईंले चाणक्य पोष्टसँग भने ।
मागको ५० प्रतिशत चिनी अझै अभाव
नेपालमा देशभर वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग रहेको छ । सामान्य तया १ महिनामा २० हजार टन चिनी खपत हुने गर्थ्यो भने चाडपर्वमा ३० मेट्रिकटन चिनी खपत हुने गरेको छ ।
नेपालमा १ लाख ५ हजार मेट्रिकटन चिनी उत्पादन हुने गर्छ । पछिल्लो समय उखु किसानहरुले भुक्तानी पाउन नसकेपछि व्यवसायबाट पलायन हुन थाले लगत्तै चिनीको उत्पादन समेत घटेको छ ।
यसरी हेर्दा अझै पनि १ लाख ३० हजार मेट्रिकटन चिनी अभाव नै रहेको छ । सो अभावलाई पूर्ति गर्न सधैं चिनी आयात गर्ने गरिन्थ्यो भने यो पटक त्यो समेत हुन नसक्दा विभिन्न निजी व्यवसायीले चिनी आयात गरी मनलागी मूल्यमा चिनी विक्री गर्न सक्ने वातावरण सृजना भएको छ । जसको मार सिधै जनताले खेप्नु पर्ने हुन्छ ।