काठमाडौँ । आन्तरिक राजस्व विभागले (मूल्य अभिवृद्धि कर) भ्याटको खरिद तथा विक्री खाता बुझाउन म्याद एक्साता थप गरेको छ ।
यसअघि भदौ २५ गतेभित्र कर विवरण बुझाइ सक्नु पर्ने समयसीमा तोकिए पनि सर्भरमा आउन सक्ने चापलाई मध्येनजर गर्दै विभागले भदौ ३१ गते सम्मको समय थप गरेको हो ।
भ्याटमा दर्ता भएका करदाताले भदौ २५ सम्म कर विवरण आन्तरिक राजस्व विभागमा बुझाउनु पर्ने व्यवस्था छ ।तर, यसपटक विद्युतीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएका र विभागले तोकेका करदाताहरुले प्राविधिक समस्याका कारण साउन महिनाको विक्री तथा खरिद विवरण पेश गर्न नसकेको गुनासो गरेका छन् ।
उक्त समस्याको कारण विक्री तथा खरिद विवरण पेश गर्न र मूल्य अभिबृद्धि कर विवरण पेस गर्न नसकेका करदाताहरुले तोकिकएको समयभित्र विवरण बुझाउन सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार सो अवधिभित्र पनि विवरण बुझाउन नसक्ने करदातालाई जरीवाना गरिनेछ । विभागले खरिद तथा विक्र्री खाताहरु अपलोडगर्न समस्या भएका करदाताहरुका लागि खाताको नमूना नै परिवर्तन गरेर नयाँ ढाँचा राखेको छ ।
उक्त नयाँ ढाँचा बमोजिम करदाताले विद्युतीय माध्यमबाट विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।विभागका अनुसार यसअघि करदाताको इन्टरनेट ब्याण्डविथ, एक्सेल सिट तयार गर्दा वस्तुको परिमाण र मापन गर्ने इकाइ एकै महलमा उल्लेख गर्ने गरेको, मिति उल्लेख गर्दा वर्ष,महिना,दिन ढाँचामा हुनु पर्नेमा अन्यथा हुने गरेको कारण प्राविधिक समस्या आएको हो ।
हाल देशभर ५ करोडभन्दा बढी कारोबार गर्ने व्यावसायीले खरिद विक्री खाता कम्प्युटर प्रणाली एक्सलमा पेश गर्नुपर्न व्यवस्था छ ।
