काठमाडौं । कोरोनाको त्रास कायमै रहे पनि क्रमशः बजारमा चहलपहल बढ्दै गएको छ । चाडवाड नजिकिएको र निषेधाज्ञा समेत हटाइएकाले बजारमा मानिसको चहलपहल बढ्दै गएको हो ।
पछिल्लो समय अर्थतन्त्र चलायमान हुन थालेपछि व्यापार व्यवसाय समेत क्रमशः बढ्दै गएको व्यापारीहरु बताउँछन् । यसैबीच, तीज आएसँगै बजारमा सारी, कुर्ता, लेहेंगा लगायत कपाडको व्यापार बढेको छ ।
देशको मुख्या व्यापारिक केन्द्र असन, न्यूरोड क्षेत्रमा सारी किन्ने महिलाहरुको चहलपहल बढेको छ । कोरोनाका कारण लामो समय ठप्प जस्तै रहेको व्यापार तीजले केही राहत दिएको व्यापारीहरु बताउँछन् ।

कोभिडको दोस्रो लहरपछि खुलेको निषेधाज्ञले यो तीजमा भने व्यवसायीलाई व्यापारमा केही आशा जगाएको छ । गत वर्ष निषेधाज्ञाका कारण व्यापार ठप्प रहे पनि यस वर्ष भने सन्तोषजनक रहेको व्यापारीहरु बताउँछन् । कोभिड अगाडिका वर्षहरुमा जस्तो असनका सारी पसलहरुमा धेरै भीड नभए पनि व्यापार भने बढ्दै गएको उनीहरुको भनाइ छ ।
असनका बजारमा तीजका लागि ७०० देखि १५ हजार रुपैयाँसम्मका सारीहरु किनबेच भइरहेका छन् । तीजमा महिलाहरुले फुलबुट्टे सारी, बनारसी, सिकेन्स लगायतका सारीहरु किन्ने गरेको असनका सारी व्यापारी अबदुल्ला सेखले बताए ।

उनले ६०० रुपैयाँका सस्ता सारीदेखि १५ हजार रुपैयाँ बढी मूल्यका सारी बजारमा तीजका लागि विक्रीमा राखिएको बताए । कोभिडका कारण गत वर्ष समेत खासै विक्री नभएको बताउने उनले यो पटक भने लकडाउन नभएकाले सारीको व्यापार राम्रै भएको बताए । उनले दैनिक २० जना आए पनि ५/७ जनाले सारी किन्ने गरेको बताए ।उनले विगतका समयमा कोभिड नहुँदा तीजको समयमा दैनिक १० पिस बढी सारी बेच्ने गरेको बताए ।
‘तीजले गर्दा बजारमा माहोल बन्दै छ, हेर्न त दिनकै २०/३० जना आउनु हुन्छ, किन्ने ५/७ जनाले मात्र हो, त्यही पनि हुँदै नहुनुभन्दा राम्रो हो,’ सेखले चाणक्य पोष्टसँग भने, ‘कोरोनाले चौपट व्यापारमा थोरै भए पनि राहत मिल्यो, अब बाँच्ने आशा जाग्यो । अब दशैं र तिहारमा पनि राम्रै व्यापार होला भन्ने आशा गरौं । ‘ कोरोनाका कारण केही महिनाको घरभाडा समेत तिर्न नसकेको उनको भनाइ छ ।

यस्तै, असनमै फुलबुट्टे सारी विक्री गर्दै बसेका आशिक श्रेष्ठ हाल बजारमा नयाँ सारी धेरै नभएको बताए । विगतका स्टकले गोदाम भरिभराउ भएको भन्दै उनले यो पटक व्यवसायीहरुले धेरै जसो स्टक सामान विक्री गराउन तिर लागेको बताए ।
सधैं तीज आउनु २ महिना अघि असनका हरेक पसलले १० लाख बढीका सामान आयात गर्ने गरेका थिए भने यो पटक ५ लाख पनि लगानी नगरेको उनले बताए ।‘यो पटक खासै नयाँ सामान आयको छैन, बाढी, पहिरोले बाटो अवरोध छ, ल्याउन सक्ने अवस्था नै छैन, २ महिना अघि लकडाउनले ल्याउन मिलेन, अहिले बाढी पहिरोले रोक्यो,’ श्रेष्ठले भने ।
बजारमा कति छ सारीको मूल्य ?

बजारमा सामान्य फुलबुट्टे सारीको मूल्य १ हजार ५०० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्म रहेको छ । यस्तै, असन बजारमा भेलभेटका सारीहरु ६ हजार रुपैयाँदेखि १० हजार ५०० रुपैयाँसम्म पाउन सकिन्छ ।
सिक्वेन्स सारीहरु ४ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म पर्ने गरेका छन् । बनारसी सारी १ हजार ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका विक्री भइरहेका छन् । साथै बजारमा बुट्टा र कपडा हेरीहेरी ६ सय रुपैयाँदेखि २० हजार रुपैयाँ बढीका सारी रहेका छन् । महिलाहरुले लगाउने धोती सारीको मूल्य ६०० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।
