काठमाडौं । बजारमा सुनको माग २ वर्ष यताकै उच्च भएको छ । हिन्दु धर्मवलम्बी महिलाहरुको महान चाड तीज नजिकिएसँगै सुनको माग ह्वात्तै बढेको हो ।
साथै, दशैं, तिहारजस्ता ठूला चाड र विवाहको सिजन नजिकिँदै गर्दा सुनको माग ह्वात्तै बढेको व्यपारीहरु बताउँछन् ।मंसिरमा विहे गर्नेहरुले समेत अहिले नै गरगहना बनाउन थालेकाले माग बढेको उनीहरुको भनाइ छ ।
सुनको माग बढेसँगै नेपाल राष्ट्र बैंकले आयातको कोटा समेत बढाएको छ । कोभिडका कारण दैनिक ५ केजी सुन वितरण गर्ने आएको राष्ट्र बैंकले तीज आएलगतै २० केजी सुन वितरण गर्न थालेको छ । हाल सुनको माग दैनिक ४० केजी रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रवक्ता धर्मसुन्दर बज्रचार्यले बताए । उनले गत वर्षको तीजमा निषेधाज्ञा कायम भएकाले सुनको माग खासै नभए पनि यसवर्ष माग दोब्बरले बढेको जानकारी दिए ।
२०७६ चैतबाट शुुरु भएको कोभिडका कारण झण्डै २ वर्षको अन्तरालमा सुनको माग र कारोबार दुवै बढेको उनको भनाइ छ । ‘माग दोब्बरले बढेको छ, गएको वर्ष तीजमा कोभिडले लकडाउन थियो, यो पटक लकडाउन नहुँदा व्यवसायको वातारण पनि राम्रो भएको छ,’ बज्रचार्यले चाणक्य पोष्टसँग भने ‘कोभिडमा शून्य कारोबारमा पुगेको सुनचाँदी व्यवसाय अहिले कोभिडभन्दा अघिको छ महिना जतिको अवस्थामा छ ।’
उनले विगतमा कोभिड अघि सरकारले चाडपर्वका समयमा सुनको वितण दैनिक २५ केजी कोटा पुर्याउने गरे पनि यो पटक २० केजीमा सीमित राख्दा माग पूर्ति गर्न व्यवसायीहरुलाई हम्मेहम्मे परेको बताए । उनका अनुसार हाल महासंघले सुनको वितरण कोटा बढाउन राष्ट्र बैंक र अर्थमन्त्रालयमा पहल गरिरहेको छ ।
विगतमा दुबईबाट ९९ प्रतिशत सुन आयात हुने गरेको थियो । कोभिडका कारण दुबईले नेपाललाई रेड जोनमा राखेपछि सुन आयातमा असहज भएको हो । हाल इजिप्ट, स्वीजरल्याण्ड र टर्किबाट सुन आयात भइरहेको छ ।
‘दुबइले २ घण्टा अघिको पीपीआर गर्नेलाई मात्र दुबई जान दिन्छ, त्यो व्यवस्था एयरपोर्टमा हुन नसक्दा पनि सुन आयातमा असर परेको छ,’ बज्रचार्यले भने ।
उनले कोभिडको त्रास कायमै रहे पनि अर्थतन्त्र चलायमान हुँदा सुनको कारोबार बढेको बताए । सुनको माग अहिले राम्रो भएकाले सुन व्यवसाय फस्टाउँदै गएको उनले बताए । ‘माग राम्रो भएकाले व्यवसाय पनि बढि रहेको छ, २ वर्षदेखि सुनको व्यापार राम्रो हुन सकेको थिएन,’ बज्रचार्यले भने ।
चालु आवको हालसम्मको अवधिमा ७५० केजी सुन आयात भएको उनले जानकारी दिए । थप १५० केजी सुन आयातका लागि पाइप लाइनमै रहेको उनको भनाइ छ । हालसम्म ७ अर्ब रुपैयाँ बराबरको सुन आयात भइसकेको हो ।
तीजभन्दा विवाहका लागि सुन बढाउने बढे
मेरीगोल्ड ज्वेलरीकी सञ्चालक जोत्सना श्रेष्ठले पछिल्लो समय सुनको माग तीजका लागि भन्दा पनि विवाहका लागि धेरै रहेको बताउँछिन् । विगतमा लकडाउनका कारण पछि सरेका विवाहका लागि मंसिरलाई लक्ष्य गरेर सुनका गहना बनाउने ग्राहक बढेको उनले बताइन् ।
‘अहिले तीजको लागि भन्दा पनि मंसिरका लागि कोरोनाका कारण सरेका विवाहका लागि धेरै सुनको माग आएको छ, कोभिड पछि व्यापार त बढेकै छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भनिन् ।