हल खुले, तर चलाउने फिल्म छैनन्, निर्माता भन्छन्- देशभरका हल नखुली नयाँ फिल्म रिलिज हुँदैन

काठमाडौं । गत वैशाखदेखि बन्द भएका फिल्म हलहरू हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । सरकारले गत बुधबारदेखि सिनेमा हल सञ्चालन गर्न अनुमति दिए पनि वितरकबाट फिल्म नआएका कारण हल अझै सञ्चालनमा आउन नसकेका हुन् ।

 

अर्कोतर्फ महामारीको जोखिम कायमै रहेकाले दर्शक आउने–नआउनेमा पनि हल सञ्चालकहरू उत्तिकै चिन्तित छन् । उता निर्माताहरू पनि फिल्म रिलिज गर्न हच्किरहेका छन् । हल सञ्चालकहरू र निर्माताहरू कसले पहिले जोखिम उठाउने भनेर एक अर्काको मुख ताकेर बसे झैं देखिएको छ ।

 

नयाँ बानेश्वरको आइप्लेक्स मलस्थित ‘वान सिनेमा’ हलका अप्रेशन म्यानेजर सन्तबहादुर तामाङ सरकारले हल खोेल्न स्वीकृति दिए पनि अहिले चलाउनको लागि सिनेमा नै नभएको बताउँछन् ।

‘सरकारले हल खोल्न स्वीकृति दिए पनि वितरकबाट कुनै प्रकारको फिल्म रिलिजको लागि आएको छैन,’ तामाङले चाणक्य पोष्टसँग भने, ‘नेपाली फिल्मको त झन् कुरै पनि भएको छैन ।’

 

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर वितरकबाट फिल्म आएपछि ५० प्रतिशत क्षमतामा हल सञ्चालन गर्ने आफूहरूको तयारी रहेको उनले बताए ।

 

नेपाल चलिचत्र संघका अध्यक्ष एवम् सिद्धार्थ तथा पुष्पाञ्जली हलका सञ्चालक मधुसुदन प्रधान सिनेमा हल खोल्न एकदमै तयारीका साथ आफूहरू अघि बढेको बताउँछन् ।

‘हल खोल्न एकदमै तयारीका साथ अघि बढेका छौं । अहिले सरसफाइ र प्राविधिक काम अघि बढेको छ । यस विषयमा निर्माताहरूसँग पनि छलफल भइरहेको छ । दुवै पक्ष पीडित नै छौं, पीडित–पीडित बीच एउटा सम्झौता गरेर यो क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउन लागिरहेका छौं,’ स्वास्थ सुरक्षाका मापदण्ड पालन गरेर हल सञ्चालन गरिने प्रधानले बताए ।

 

‘देशै भरका हल नखुली चलचित्र रिलिज हुँदैन’

 

चलचित्र निमार्ताहरूले देश भरिका फिल्म हल पूर्णरूपमा सञ्चालनमा आएपछि मात्रै फिल्म रिलिज गर्ने बताएका छन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी देशभरका हलहरू नखुलेसम्म फिल्म रिलिज नहुने बताउँछन् ।

 

‘कुनै नयाँ फिल्म तबसम्म रिलिज हुँदैन जबसम्म देशभरिका हलहरू खुल्दैनन्,’ उनले चाणक्य पोष्टसँग भने, ‘नयाँ फिल्म रिलिज गरिहाल्दा दर्शक आउने हुन कि होइनन् भन्न सकिने अवस्थै छैन । सबै हल पूर्णरूपले नखुली फिल्म रिलिज हुन गाह्रो छ ।’

उनका अनुसार हाल २८ वटा फिल्म रिलिजको तयारीमा रहेका छन् । तर, कुन फिल्म रिलिज गर्ने, कसले गर्ने भन्ने केही टुंगा भने लागेको छैन ।अध्यक्ष अधिकारीका अनुसार सिनेमा रिलिज कसरी गर्ने भन्ने विषयमा निमार्ताहरू, चलचित्र बोर्ड र सम्बन्धित पक्षहरूसंँग छलफल चलिरहेको छ ।

 

अहिले उपत्यका भित्रका हल मात्र खुलेको कारण अझै पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । ‘दर्शक पनि कम राख भन्ने अनि सिनेमा हल पनि उपत्यका भित्र मात्र खोलेर कसरी व्यवसाय चल्छ ?,’ उनले प्रश्न गरे, ‘त्यसकारण अझै पर्ख र हेरको अवस्थामा रहेका छौं ।’

चोभार सुक्खा बन्दरगाह सञ्चालनको तयारी, ५०० कन्टेनर अट्ने Read Previous

चोभार सुक्खा बन्दरगाह सञ्चालनको तयारी, ५०० कन्टेनर अट्ने

अर्थमन्त्रीको गर्भनरलाई फोन, भने-कहाँ के गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्नू Read Next

अर्थमन्त्रीको गर्भनरलाई फोन, भने-कहाँ के गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्नू