काठमाण्डौं । आगामी असोज २ देखि २३ गतेसम्म पोखरामा पहिलो राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगिता आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा सहभागीमध्येको एक शंखमूल फुटसललाई कुजु नेपाल प्रालिले प्रायोजन गर्ने भएको छ ।
प्रायोजनका लागि कुजु नेपाल र शंखमूल फुटसलबीच सम्झौता भएको हो । सम्झौतापत्रमा कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ तथा सम्राट पाण्डे र शंखमूल फुटसलका प्रमुख निर्देशक नरेश अवालेले हस्ताक्षर गरे ।
कुजु नेपालले शंखमूल फुटसललाई प्रमुख प्रायोजन गर्ने भएको हो । कुजु नेपालले शंखुमल फुटसललाई २ लाख नगद सहित अन्य आवश्यक सामाग्री प्रायोजन गर्ने जनाएको छ । कार्यक्रममा कुजु नेपालले प्रायोजन गरेको खेलाडीले लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो ।
प्रकाश परियारको प्रशिक्षणमा रहेको शंखमूल फुटसलको टिममा १७ खेलाडी रहेका छन् । कुजु नेपालका निर्देशक श्रेष्ठ र पाण्डेले शंखमूल फुटसलसँग सहकार्य गर्न पाउँदा खुशी भएको बताए ।
शंखमूल फुटसल राष्ट्रिय लिग च्याम्पियनसिप जित हासिल गरिसकेको टिम हो । शंखमूल फुटसल यस वर्ष पनि आफ्नो जितलाई निरन्तरता दिन आक्रामक तयारी गरिरहेको प्रशिक्षक परियारले बताए ।
एन्फा अन्तर्गतको फुटसल कमिटीले आयोजना गर्ने प्रतियोगितामा देशैभरिबाट १० टिम छनौट भएका छन् । खेल विजेताले १० लाख रुपैयाँको पुरस्कार पाउने छन् । यस प्रतियोगिताको खेलबाट उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टिममा समेत छनौट गरिने जनाइएको छ ।
कुजु नेपाल अन्तर्गत दरबारमार्गमा रहेको ओपीएम रेष्टुरेण्ट, डीएफएसके मोटर्स् र याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर सञ्चालनमा रहेका छन् । कुजु नेपालले सन् २०१८ देखि नेपाली बजारमा चाइनिज ब्राण्ड डीएफएसकेका कार र यसै वर्षदेखि याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर विक्री वितरण गरिरहेको छ ।