काठमाडौं । नेपाली सेयर बजार जबजब बढ्न थाल्छ तब (अर्थमन्त्री, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक लगायत) नियामकले नै ‘मुक्का’ हानेर पछार्ने गरिएका दृष्टान्त छन् ।
विद्धान मानिएका अर्थमन्त्री डा. बाबुराम भट्टराईले एकदशक अघि सेयर बजारलाई ‘जुवाको खाल’ भनेर परिभाषित गरे । त्यस्तै, नेपाल राष्ट्र बैंकको कमाण्ड सम्हालेर देशकै अर्थतन्त्रको बागडोर सम्हाल्न आइपुगेका अर्थमन्त्री डा.युवराज खतिवडाले ‘अनुत्पाद क्षेत्र’मा दर्ज गरे ।
नियामक निकाय र तिनको नेतृत्वमा रहेकाले बनाएको नीति, नियमले बजारलाई व्यवस्थित गर्नु, आमजनाताको हितमा विकास गर्नुको सट्टा उल्टो घटाउने मात्र गर्छ भने त्यो उनीहरुको अक्षमता र संकुचित सोचाइको खराब परिणाम हो । न कि ठूला लगानीकर्ताको चलखेल र बदमासी मात्र होइन ।
सेयर बजारप्रति नकारात्मक धारण राख्ने सरोकारवाला व्यक्तिमध्ये यी प्रतिनिधि पात्र मात्र हुन् । अझै पनि निकायम निकायको नेतृत्वमा बसेका व्यक्तिहरुले बेलालामा सेयर बजारलाई नकारात्मक नजरले हेर्ने र बेतुके अभिव्यक्ति दिने गरेको पाइन्छ । उनीहरुको बुझाइमा सेयर बजार पूँजी एकीकृत गर्ने, कमाइ गर्ने थलो, लगानीको क्षेत्र नभई फगत ‘सट्टेबाजी’ गर्ने क्षेत्र मात्र हो ।
झन् सेयर बजारलाई नियमन र मार्ग निर्देशन गर्ने निकायहरुको व्यवहार र बुझाइ विज्ञ अर्थमन्त्रीहरुको भन्दा फरक हुन नसकेको बेलाबेलामा देखिन्छ । कतिपय अवस्थामा नियामक निकायहरु नै बजारलाई प्रभावित पार्न लागिपरेको देखिन्छ ।
गत असारमा नेपाल धितोपत्र बोर्डले अस्वभाविक चलखेल गरेर मूल्य बढाइएको भन्दै ५१ खराब कम्पनीको नाम नै सार्वजनिक गर्यो । त्यसबेला सर्वाधिक उचाइमा पुगेको नेप्से बोर्डको उक्त कदमपछि एकाएक ओरालो लाग्यो । झन्डै ३०० अंकले घटेपछि फेरि बजारले लय समात्यो ।
त्यसपछि फेरि माथि उठेर लय पकडेको सेयर बजार पछिल्लो समय नेपाल राष्ट्र बैंकको कदमले थेचारिएको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत एक व्यक्तिले एउटा बैंकबाट बढीमा ४ करोड र अन्य संस्थाबाट गरी कुल १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको छ ।
उक्त व्यवस्थापछि निरन्तर गएको सेयर बजारको पहिरो अहिलेसम्म थामिएको छैन भने रोकिने छाँट पनि देखिँदैन । राष्ट्र बैंकको उक्त कदम पछि तीन सातामा मात्रै नेप्से झण्डै ४०० अंकले घटिसकेको छ ।
‘राष्ट्र बैंकले तोकिएको मापदण्ड बमोजिम सेयर कर्जा लगानी भएको छ /छैन त्यसको अनुगमन गर्ने हो । धितोमा खराब कम्पनी राखेको छ कि त्यसको जाँच गर्ने हो । तोकिए विपरीत भेटिएमा कारबाही गर्ने हो, एक ठूला लगानीकर्ताले आक्रोशित हुँदै भने, ‘तर, तैँले एउटा व्यक्तिलाई १२ करोडभन्दा बढी ऋण नदे भन्ने होइन । एउटा लगानीकर्ताले आफूसँग भएको सेयर धितोमा जति पनि ऋण लिन पाउँछ । दिने नदिने बैंकको कुरा हो ।’
सेयर बजारको प्रवृत्ति नै घट्ने र बढ्ने खालको हुन्छ । सधैं बढी नै रहनुपर्छ र घट्नै हुन्न भन्ने हुँदै होइन । यो लगानीकर्ताले पनि राम्ररी बुझेका छन् । तर, नियामक निकायले पूर्ण अध्ययन र अनुसन्धान बिनै बेलाबेलामा जारी गर्ने ‘उर्दी’ र निर्देशनले भने लयमा हिँडेको बजारलाई ‘अंकुश’ लगाइ थेचार्ने गरेको देखिन्छ ।
बजारमा हुने अस्वभाविक चलखेल र विकृति रोक्न लगाम लगाउनु नियामकको दायित्व र कर्तव्य हो । यसमा दुविधा छैन । तर, आफ्नो गतिमा हिँडेको बजारलाई नै प्रभावित हुने गरी नीति नियम लाद्नु भने नियामकको अदूरदर्शी र कच्चा काम हो । नियामकलाई कागजी निर्णय गर्दिए पुग्छ, तर उसको कदमले लगानीकर्ताले भर्ने सधैं खर्बौैंको नोक्सानी बेहोर्नु परेका नजीर छन् ।
नियामकले कतिपय कदम त आफ्नो स्वार्थ अनुसार नै चाल्ने गरेको लगानीकताहरुले आरोप समेत लगाउने गरेका छन् । चाहे बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्नु वा राष्ट्र बैंकले कर्जाको सीमा तोकिदिनु यी दुवै बजार घटाउने नियोजित कदम रहेको उनीहरुको बुझाइ छ ।
कि त नियामकले सेयर बजार यो विन्दुभन्दा तल र माथि जान हुँदैन भनेर तोकिदिनु पर्यो । होइन भने लगानीकर्ताको खर्बौं सम्पत्ति स्वाहा बनाउने नीति बनाउँदा कम्तीमा पनि पर्ने असर र प्रभावको मूल्यांकन गर्नुपर्छ । नियामकलाई बजार नियमन गर्ने नाममा लगानीकर्ताको सम्पत्ति माथि खेलवाड गर्ने छुट हुँदैन ।
नियामक निकायको नेतृत्व नै कानुन विपरीत सेयर कारोबारमा संलग्न भएका, कर्नरिङ गरी मूल्य बढाएका लगायत घटना सार्वजनिक हुँदा समेत कारबाही हुन सक्दैन । तर, लगानीकर्ताले आफ्नो पूँजी लगानी गरी सेयरबाट केही पैसा कमाउँदा अर्थतन्त्र नै डामाडोल बनाए जसरी लगाम लगाउनु कदापि न्यायोचित देखिँदैन ।
सेयर बजार लगानीकर्ताको मात्र होइन सरकारको पनि आम्दानीको गतिलो स्रोत हो ।यसको दायारा फराकिलो बनाइ व्यवस्थित बनाउनुपर्छ । अलिकति बढ्यो कि विभिन्न अस्त्र प्रयोग गरी घटाउने होइन ।
नियामक निकाय र तिनको नेतृत्वमा रहेकाले बनाएको नीति, नियमले बजारलाई व्यवस्थित गर्नु, आमजनाताको हितमा विकास गर्नुको सट्टा उल्टो घटाउने मात्र गर्छ भने त्यो उनीहरुको अक्षमता र संकुचित सोचाइको खराब परिणाम हो । न कि ठूला लगानीकर्ताको चलखेल र बदमासी मात्र होइन ।