काठमाडौं । नेपालको सबैभन्दा उच्च स्थानमा जीप लाइन संचालनमा ल्याएपछि चन्द्रागिरि हिल्सको चर्चा एकपटक फेरि बजारमा चुलिएको छ । काठमाडौं उपत्यकामै पहिलोपटक केबलकार संचालनमा ल्याएको चन्द्रागिरि यसअघि पनि विभिन्न कारणले चर्चामा आइरहने पर्यटन सम्बन्धी कम्पनी हो ।
कतिपयले यसलाई पर्यावरण नष्ट गरेको, राज्यलाई प्रभावमा पारेर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको लगायत आरोप लगाएर विरोध गर्ने गर्छन् भने कतिपयले राम्रो पर्यटकीय गन्तव्य बनाएको भनेर प्रशंसा पनि गर्ने गरेका छन् ।
रेष्टुरेन्टको पारा त टिठ लाग्दो नै थियो । टेबुलमा बिछ्याइएको कपडाका म्याटहरु टक्टक्याएर फेरि त्यही प्रयोग गर्ने चलन रहेछ । एउटा ग्रुप उठेर गएपछि धोएको म्याट राख्न वा सेतो कागज (अन्य होटलमा झैं) राख्न नसकिने थिएन । त्यही फोहर म्याट माथि नै नयाँ ग्राहकका लागि काँटा चम्चा सजाउने चलन रहेछ ।
सेयर बजारमा सुचीकृत भएपछि त झन् यसको चर्चा चुलिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण अनुसार २५ करोड रुपैयाँ बढी घाटामा रहेको यो कम्पनीको जगेडा कोष ३९ करोडभन्दा बढीले ऋणात्मक रहेको छ । यसैगरी प्रतिसेयर आम्दानी १६.५५ रुपैयाँले ऋणात्मक रहेको छ ।
वित्तीय विवरणमा झल्किएका तमाम नकारात्मकताका बावजुद यो कम्पनीको बजार मूल्य प्रतिकित्ता १५ सय हाराहारीमा कारोबार भइरहेको छ । यसको मतलब मानिसहरु यो कम्पनीको भविष्य प्रति आशावादी छन् । कम्पनीले भविष्यमा राम्रो गर्दै जाला भन्ने मानिसहरुको आंकलन होला ।
तर, कुनै पनि कम्पनीको भविष्य आफैं राम्रो हुने होइन । यसको लागि प्रष्ट योजना र त्यसको प्रभावकारी कार्यान्वयनको खाँचो पर्छ । चन्द्रागिरि परियोजनाको महत्वपूर्ण हिस्सा चन्द्रागिरि हिल्स रिसोर्टलाई हेर्ने हो भने यो ‘प्रोपर्टी’ प्रष्ट योजना मुताबिक चलेको आभाष पाइँदैन ।
होटलको पूर्वाधार र मेनु लक्जरी होटलको सरह रहे पनि ग्राहकलाई दिइने सेवा भने न्यूनस्तरको (सामान्य लजकोभन्दा कम) रहेको ग्राहकहरुको अनुभव छ ।
‘कोठाको मूल्य हेर्यो भने कुनै लक्जरी होटलको जस्तो लाग्छ । तर यहाँको माहौल र सेवा हेर्यो भने सामान्य लज जस्तो लाग्छ । कस्तो हास्यास्पद किसिमको संस्था रहेछ,’ रिसोर्टमा भेटिएका म जस्तै ग्राहक कुमार लोहनीले फिस्स हाँस्दै सुनाए ।
हुन पनि हो एउटा कोठाको एक रातको मूल्य ९ हजार भनेको थोरै होइन । यो काठमाडौं र अन्यत्रका चल्तीका पाँच तारे होटल सरहकै मूल्य हो । रेष्टुरेन्टको मेनु पनि अन्य पाँच तारे होटलकोभन्दा कम छैन ।
तर मानिसहरु डिनर र ब्रेकफाष्ट खानलाई मात्र तँछाडमछाड गरिरहेका देखिन्थे । ठेलमठेल देखिन्थ्यो, गाउँ-देहातको विवाह भोज जस्तो । यस्तो धेरै भीडभाड हुने भएपछि २-३ वटा रेष्टुरेन्टहरु किन नखोलेको होला ? आवश्यक कर्मचारीहरु किन भर्ती नगरिएको होला ? सायद यो होटलका सञ्चालकहरु हामी कस्तो खाले होटल बनाउन चाहन्छौं भन्ने प्रश्न मै प्रष्ट छैनन् कि !
होटलमा भेटीएकी अर्की एक ग्राहक खानामा किला भेटियो भनेर झगडा गर्दै थिइन् । सायद उनले आफ्नो गुनासो पनि दर्ता गराइन क्यारे ।
रेष्टुरेन्टको पारा त टिठ लाग्दो नै थियो । टेबुलमा बिछ्याइएको कपडाका म्याटहरु टक्टक्याएर फेरि त्यही प्रयोग गर्ने चलन रहेछ । एउटा ग्रुप उठेर गएपछि धोएको म्याट राख्न वा सेतो कागज (अन्य होटलमा झैं) राख्न नसकिने थिएन । त्यही फोहर म्याट माथि नै नयाँ ग्राहकका लागि काँटा चम्चा सजाउने चलन रहेछ ।
यो विषय एक ग्राहकले उठाएका पनि थिए । तर रेष्टुरेन्ट म्यानेजरले यो पारा रिसोर्टका जीएमदेखि ठूला लगानीकर्ताहरु सबैलाई थाहा भएको भनेर रुखो जवाफ फर्काउँदै थिए ।
यसो माहौल हेर्दा चन्द्रागिरि रिसोर्टमा चन्द्रगिरि केबुलकारको धङधङी देखिन्थ्यो । पैसाको हिसाबले केबुलकार ‘मास प्रडक्ट’ हो भने रिसोर्ट ‘प्रिमियम प्रडक्ट’ हो । तर, केबलकारको धङधङी रिसोर्टमा परेको देखियो ।
अलि विचार गरेर काम गर्ने हो भने रिसोर्टलाई पनि ‘मास प्रडक्ट’ बनाउन नसकिने होइन । २५००–३००० मा कोठा बेच्दा के हुन्थ्यो र ? सातका सातै दिन मानिसहरुको आवतजावत बाक्लै हुन्थ्यो होला ! होइन, रिसोर्टलाई ‘प्रिमियम प्रडक्ट’ नै बनाउने हो भने त्यही अनुसारको सेवा दिनुपर्यो ।
‘यो त पैसा धेरै उठाउने सेवा केही नदिने दोहोरी साँझको जस्तो पारा देखियो,’ यति भनेर एक ग्राहक खित्का छोडेर हाँसे ।
सञ्चालकहरु वित्तीय क्षेत्रका भएर होटल चलाउने ढंग नपुगेको हो कि ? तर स्वदेशी वा विदेशी राम्रो कम्पनीलाई व्यवस्थापनको जिम्मा लगाउन नसकिने त होइन नि !
-शुक्रबार राति रिसोर्टमा बास बसेर आएका सिंहको अनुभव ।