काठमाडौं । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबलकार आइतबार (आज)देखि पुनः सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबलकार बन्द भएको थियो ।
मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, ‘यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।’
संक्रमणलाई ध्यानमा राख्दै यात्रुले डिजिटल माध्यमबाटै केबलकारको टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ई–सेवा, फोन–पे लगायत डिजिटल माध्यमबाटै यात्रुले केबलकारको टिकट काट्न सक्नेछन् ।
इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबलकारको यात्रा गर्ने गरेको उनको भनाइ छ ।