काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई निलम्बन गर्दै सर्वोत्तम सिमेन्ट सेयर खरिद प्रकरणबारे छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ ।
उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरिएको हो । समिति सदस्यमा नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्य नारायणप्रसाद पौडेल रहेका छन् ।
ढुंगानाले नेपालमै पहिलोपटक बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर आफ्नी छोरी रेविका ढुंगानाका नाममा किनेका थिए ।
स्वार्थ बाझिने गरी कारोबार गरेको समाचार बाहिरिएपछि अर्थ मन्त्रलायले उनलाई स्पष्टीकरण समेत सोधेको थियो । साथै, संघीय संसद्को अर्थ समितिले ढुंगानालाई बर्खास्त गरी छानबिन गर्न निर्देशन दिएको थियो ।
सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका नेप्सेका सीईओ चन्द्रसिंह साउद र बोर्डका संचालक चन्द्रप्रसाद ढकालले भने यसअघि नै राजीनामा दिइसकेका छन् । ढुंगाना भने अटेरी गर्दै पदमा बहाल रहँदै आएका थिए ।