काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वीरगंजस्थित जगदम्बा स्टीलमा तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघले एक विज्ञप्ति जारी गर्दै भदौ उद्योगमा ११ गते भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको हो ।
तोडफोडमा संलग्नलाई तत्काल पहिचान गरी दोषीलाई कानूनका दायरामा ल्याई कारवाही गर्न र उद्योग पूर्वावस्थामै संचालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग हुन महासंघ संघीय सरकार सहित तीनै तहका सरकारलाई महासंघले आग्रह गरेको छ ।
‘स्थानीय तहमा संचालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा समेत निकै ठूलो सहयोग पुरयाईरहेको यथार्थता जगजाहेर छ । तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जवरजस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दुःखद कुरा हो,’ महासंघले भनेको छ ।
भदौ ११ गते विहान उद्योगको अमोनिया ग्यांस टयांकबाट ग्यास लिक भई भएको घटना लगत्तै उद्योग परिसरभित्र स्थानीयहरू वलजफती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ । वार्ताबाट समस्या समाधान गर्न सकिने अवस्था हुादाहाुदै तोडफोड गरिएको उद्यागको भनाइ छ ।
यसले एकातिर उद्योग र स्थानीय जनता बीचको आपसी विश्वासमा कुठाराघात गर्ने अर्कोतिर उद्योगी व्यवसायीको मनोवल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक संदेश जाने भएकाले महासंघ चिन्तित भएको जनाएको छ ।