१० घण्टाको यात्रा अब आधा घण्टामै सरर…, कति लाग्छ भाडा ?

पोखरा । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन ।

 

पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा—सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि झन्डै १० घण्टाको गाडीको यात्रा बाध्यता जस्तै बनेको थियो ।

 

भारतीय पर्यटक भित्रने मुख्य नाका रक्सौल नजिकै रहेको सिमरा विमानस्थलबाट पोखरा सिधा हवाई उडान आवश्यक भएको आवाज समयसमयमा उठ्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन ।

 

भारतीय पर्यटकलाई अधिकतम भित्र्यउनाका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यका साथ पोखरा—सिमरा सिधा उडान हुन लागेको र बुद्ध एयरले उक्त उडान भर्ने भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । ‘पोखरा–सिमरा सिधा हवाई सम्पर्क गण्डकी प्रदेश र प्रदेश नं २ लाई जोड्ने महत्वपूर्ण माध्यम पनि हो,’ उनले भने, ‘कोरोना प्रभावित पर्यटनलाई आन्तरिक रुपमा पनि सबल बनाउनका लागि यो उडान महत्वपूर्ण बन्ने अपेक्षा गरेका छौँ ।’

 

वीरगञ्ज देशको प्रमुख व्यापारिक नाका हुनाका साथै नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जसमेतका कारण यी क्षेत्रसँग पर्यटकीय नगरी पोखरासँगको पर्यटकीय साइनोलाई समेत सिधा उडानले महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

 

बुद्ध एयरले पोखरा—सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक हप्ता आइतबार, बुधबार र शुक्रबार उडान तालिका राखिएको छ । उडान हुने दिन दिनको १२ः२० बजे पोखराबाट सिमरातर्फ उडान हुने छ भने सो जहाजले १ः१५ बजे सिमराबाट यात्रुहरू पोखरा ल्याउनेछ ।

 

उडानले पोखरा आउन चाहने भारतीय पर्यटकका साथै पोखराबाट वीरगञ्ज र रक्सौल नाका हुँदै भारतका विभिन्न सहर जान चाहने व्यक्ति तथा पर्यटक सबैलाई लाभ पुग्ने विश्वास लिइएको उनले बताए ।

 

कास्की जिल्लासहित स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दीलगायत स्थानबाट बीरगञ्ज लगायतका स्थानमा मानिस बसाइ जाने गरेका कारण पनि ती व्यक्तिसमेत लाभान्वित हुने भएका छन् । बुधबारदेखि उडान थाल्ने बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने तयारी गरेको छ ।

 

यस रुटमा आवतजावत गर्न चाहनेका लागि बुद्ध एयरले तीन किसिमको भाडादर तोकेको छ । यसमा सबैभन्दा महँगो टिकटको भाडादर ७ हजार १७० छ । त्यस्तै मध्यमस्तरको टिकटको भाडादर ५ हजार २७० छ भने सस्तो ४ हजार ७७० भाडादर रहेको स्टेशन म्यानेजर बरालले जानकारी दिए । रासस

 

सेयर बजारलाई मौद्रिक नीतिको ‘झटारो’ले घाइते बनाएकै हो त ? Read Previous

सेयर बजारलाई मौद्रिक नीतिको ‘झटारो’ले घाइते बनाएकै हो त ?

भोलिदेखि पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै Read Next

भोलिदेखि पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै