सेयर बजारलाई मौद्रिक नीतिको ‘झटारो’ले घाइते बनाएकै हो त ?

काठमाडौं । सेयर बजारमा आज पनि पहिरो गएको छ । आइतबार करिब ५० अंकले घटेको बजार आज ६९ अंकले घटेको हो । यस साता दुई दिनमै नेप्से करिब १२० अंकले घटेको छ ।

 

यस्तै, अघिल्लो साता पनि नेप्से करिब १०० अंकले घटेको थियो । नेपाल राष्ट्र बैंकले साउन २९ गते चालू आवका लागि मौद्रिक नीति सार्वजनिक गरेयता बजार निरन्तर ओरालो लागेको हो । पछिल्लो दुई साताको अवधिमा नेप्से झन्डै २२० अंकले घटेको छ ।

 

मौद्रिक नीति अघि सामान्य करेक्शन हुँदै लगातार उकालो लागेर इतिहासकै सर्वाधिक विन्दुको रेकर्ड बनाएको नेप्से त्यसयता निरन्तर घटेपछि लगानीकर्ताहरु हतोत्साहित हुन थालेको देखिन्छ । बैंकले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने मार्जिन कर्जामा कडाइ गरेपछि त्यसको असर बजारमा देखिएको हो ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको छ । साथै, कसैले हाल १२ करोडबढी ऋण लिएको भए पनि १ वर्षभित्र १२ करोडमा सीमित गर्न निर्देशन दिएको छ ।

 

यस व्यवस्थाले साना लगानीकर्तालाई असर नगरे पनि ठूला लगानीकर्तालाई प्रत्यक्ष असर परेको छ । फलतः बजारमा दैनिक गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । आफ्नो गतिमा हिँडेको सेयर बजारमा बेलाबेलामा नियामकले हचुवाका भरमा अंकुश लगाउँदा लगानीकर्ताले ठूलो नोक्सानी बेहोर्नुपरेको उनीहरुको भनाइ छ ।

 

यसअघि पनि नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई खराब भन्दै सूची सार्वजनिक गरेपछि नेप्सेमा करिब २५० अंकको गिरावट आएको थियो ।

 

बजार नियमन र अनुगमन गर्नु नियामकको दायित्व भए पनि अध्ययन, अनुसन्धान बिनै नीतिमा परिवर्तन गर्दा सधैं लगानीकर्ता मारमा पर्दै आएको देखिन्छ । सेयर बजार आफैंमा घटबढ भइरहने प्रवृत्तिको भए पनि नियामक नयाँ कदमपछि धेरै प्रभावित हुँदै आएको देखिन्छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको १३ अर्ब २५ करोड ९६ लाख रुपैयाँ बराबरको २ करोड ३१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर समूह पनि ३.४६ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा ३० कम्पनीको सेयर मूल्य बढेको छ भने १९५ कम्पनीको मूल्यमा गिरावट आएको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब १ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रीलरी ४९ करोड र अपी पावर २९ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

उच्च अंकले घटेको बजारमा आज रुरु जलविद्युत् कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् । यसैगरी, माउन्टेन हाइड्र ७.७६ प्रतिशत, हिमालयन ऊर्जा र सिभिल लद्धुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घट्दो बजारमा आज कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले भने सबैभन्दा धेरै ७.५८ प्रतिशत कमाएका छन् ।

राष्ट्र बैंकको नयाँ प्रयोग, अब झुत्रा नोटबाट ब्रिकेट ! Read Previous

राष्ट्र बैंकको नयाँ प्रयोग, अब झुत्रा नोटबाट ब्रिकेट !

१० घण्टाको यात्रा अब आधा घण्टामै सरर..., कति लाग्छ भाडा ? Read Next

१० घण्टाको यात्रा अब आधा घण्टामै सरर..., कति लाग्छ भाडा ?