धमाधम भण्डारण डिपो बनाउँदै निगम, दुई ठाउँमा चालु वर्षमै सम्पन्न हुने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोल)को भण्डारण क्षमता बढाउन चालु आर्थिक वर्ष भित्र देशका दुई ठाउँमा ४ वटा डिपो निर्माण सम्पन्न गर्ने भएको छ ।

 

निगमले यसै वर्षभित्र सक्नेगरी पोखरा र अम्लेखगञ्जमा २/२ वटा पेट्रोलियम भण्डारणका लागि डिपो निर्माण गरिरहेको हो । साथै, अन्य स्थानमा रहेका पुराना मट्टीतेलका डिपोलाई डिजेल र पेट्रोल भण्डारणमा प्रयोग गर्ने भएको छ ।

 

यसै वर्षभित्र पोखरा ५/५ हजार किलोलिटर र अम्लेखगञ्जमा ४१/४१ सय किलोलिटर क्षमताका २/२ वटा भण्डारण डिपो निर्माण सक्ने निगमले जनाएको छ ।

 

निगमले हाल पोखरामा ५/५ हजार किलोलिटर क्षमताका २ वटा डिजेल भण्डारणका लागि डिपो निमार्ण भइरहेको छ । १० हजार किलोलिटरको सो डिपो ७७ करोड रुपैयाँ बढी लगानीमा बन्न लागेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

 

उनले पोखरा पेट्रोलियम डिपो यही आवभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताए । ‘पोखराको डिपो एक वर्षभित्र निमार्ण सक्ने लक्ष्य छ । तर त्योभन्दा अघि नै बन्छ भन्ने हाम्रो अनुमान छ,’ उपाध्यायले चाणक्य पोष्टसँग भने । पोखरामा बन्ने डिपोले गण्डकी प्रदेशका अलावा वाग्मती प्रदेशसम्म पनि खपत धान्ने अनुमान गरिएको छ ।

 

यस्तै, निगमले अम्लेखगञ्जमा पनि २ वटा भण्डारण डिपो निर्माणको काम शुरु गरेको छ । उक्त डिपो निर्माणको दोस्रो चरणको प्रकृया पूरा भई कार्य योजना बनिसकेको उनले बताए । दोस्रो परियोजना अन्तगर्त अम्लेखगन्जमा ४१/४१ सय किलोलिटर क्षमताको दुईवटा पेट्रोलीयम पदार्थ भण्डारण डिपो बनिरहेको छ ।

 

मट्टीतेल डिपोलाई धमाधम डिजेल र पेट्रोल डिपोमा परिवर्तन गरिँदै

 

अन्य प्रदेशहरुमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउन मट्टीतेल राख्ने भर्टिकल ट्यांक (ठाडो ट्यांक) मा पेट्रोल तथा डिजेल भण्डारण गर्ने निगमको योजना रहेको छ । मट्टीतेलको खपत कम भएसँगै आयात पनि कम भएको छ । अर्कोतर्फ डिजेल तथा पेट्रोलको आयात र माग चुलिँदै गएको छ । यसैलाई मध्यनजर गर्दै निगमले मट्टीतेलका भण्डारणलाई पेट्रोल तथा डिजेल भण्डारणमा परिवर्तन गर्न लागेको प्रवक्ता उपाध्यायले बताए ।

 

निगमले विराटनगरमा ७ लाख ६० हजार लिटरको मट्टितेल ट्यांकलाई डिजेल तथा पेट्रोल भण्डारणमा परिवर्तन गर्दैछ । भैरहवामा ३७९ किलो लिटरको मट्टित भर्टिकल टंयाक राखिएको छ । उक्त ट्यांकलाई समेत पेट्रोल तथा डिजेल भण्डारणमा प्रयोग गरिनेछ ।

 

उनले भैरहवाकै ७० हजार लिटर क्षमताको मट्टितेलको दुईवटा ट्यांक अन्डर गा्रउन्ड गरिसकेपछि उक्त ट्यांक खाली हुने बताए । त्यसलाई पनि पेट्रोलियम पदार्थ भण्डारणका लागि परिवर्तन गर्दै लैजाने निगमको योजना रहेको छ ।

 

यस्तै, नेपालगन्ज र पोखरामा रहेका मट्टीतेलका टंयाकलाई पेट्रोल भन्डारणका लागि प्रयोग गरिने भएको छ । पोखरामा रहेको २२ सय ५० किलोलिटरको डिजेल भण्डारण टंयाकलाई पनि भविष्यमा पेट्रोल भण्डारणमा परिवर्तन गरिने निगमको योजना रहेको छ । उक्त डिजेल भण्डारणलाई नयाँ बन्दै गरेको ५/५ हजार किलोलिटरको भण्डारण बनेपछि पेट्रोल भण्डारणका रुपमा परिवर्तन गरिने भएको हो ।

 

‘पहिले पेट्रोलको खपत कम थियो, अहिले दिनदिनै खपत बढ्दै गएकाले हामीले पेट्रोलको भण्डारण क्षमता बढाउनु परेको हो,’ प्रवक्ता उपाध्यायले भने ‘डिजेलको भण्डारण क्षमता पेट्रोलको तुलनामा बढी छ, विगतमा मट्टितेलको भण्डारण गर्न राखेका भर्टिकल ट्यांकहरुलाई अहिले पेट्रोल राख्न उपयोग गर्नेगरी योजना ल्याएका छौँ ।’

 

निमाणाधीन अवस्था रहेका पोखरा र अम्लेखगन्ज डिपो सम्पन्न भएपछि १८ हजार किलोलिटर भण्डारण क्षमता थप हुने निगमले जनाएको छ ।

 

२०७२ को भारतको नाकाबन्दीपछि सरकारले ९० दिन पुग्नेगरी पेट्रोलियम पदार्थको भण्डारणका लागि डिपो निमार्ण गर्ने घोषणा गरे पनि हाल नेपालमा करिब ७ देखि ९ दिनसम्म्म मात्रै पुग्ने पेट्रोलको भण्डारण क्षमता रहेको छ । थप १८ हजार किलोलिटर पेट्रोलियम भण्डारण बनेपछि अधिकतम १२ देखि १५ दिनसम्मका लागि पुग्ने आकलन गरिएको छ ।

 

देशका कुन ठाउँमा कति भण्डारण क्षमता छ ?

 

हाल देशभर ४५ हजार ५३४ किलो लिटर डिजेलको भण्डारण क्षमता रहेको छ । उक्त भण्डारणले ७ देखि ९ दिनका लागि डिजेलको खपत धान्ने छ ।

 

पेट्रोलियम पदार्थको माग दैनिक सरदर २ हजार देखि २५ सय किलोलिटर रहेको छ । पेट्रोलको भण्डारण क्षमता ९ हजार ३९५ किलोलिटर रहेको छ । निगमका प्रवक्ता उपाध्यायले केही स्थानमा एकदिको लागि समेत भण्डारण राख्र्ने ठाउँ नभएको बताए ।

 

विराटनगरमा ५० देखि ६० किलोलिटर पेट्रोलियम पदार्थको स्टक क्षमता रहेकोमा खपत ३०० किलोलिटरसम्म हुने गरेकोे छ ।
निगमका अनुसार भैरहवामा दैनिक पेट्रोलियम पदार्थको भण्डारण क्षमता २ देखि ३ सय किलोलिटर रहेको छ भने दैनिक खपत १४० किलोलिटर रहेको छ ।

 

नेपालगन्जमा दैनिक २५० देखि ३०० किलोलिटरसम्म बिक्री हुनेगरेको छ । उक्त स्थानमा २ सय १० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । धनगढीमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता ७३ किलोलिटर रहेको छ भने दैनिक माग १०० किलोलिटर रहेको छ ।

 

जनकपुरमा ३० किलोलिटर मात्र भण्डारण क्षमता रहेकोमा दैनिक माग १०० किलोलिटरसम्म रहेको छ । यस्तैै झापाको चारहालीमा भने बिक्री केन्द्र भएपनि स्टकराख्र्ने ठाउँ भने छैन् । टंयाकरबाटै विक्री गरिँदै आइएको छ ।

 

यस्तै देशभर ८ हजार ७० किलोलिटर हवाई इन्धनको भण्डारण क्षमता रहेको छ भने मट्टितेलको भण्डारण क्षमता ५ हजार १६८ किलोलिटर रहेको छ ।

 

जहाँ भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन् Read Previous

जहाँ भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन्

काँकरभिट्टा नाकाबाट ३५ अर्ब व्यापार घाटा Read Next

काँकरभिट्टा नाकाबाट ३५ अर्ब व्यापार घाटा