डुबान क्षेत्रमा जग्गाको कारोवार ह्वातै बढ्यो, यस्तो छ कारण

जाजरकोट । नलगाड जलविद्युत् कम्पनीको बाँध निर्माण गर्ने बारेकोट गाउँपालिकाको विभिन्न क्षेत्रमा जग्गा किनबेचमा वृद्धि भएको छ । कम्पनीले चालू आर्थिक वर्षमा मुआब्जा वितरण गर्ने भएपछि जग्गा किनबेच बढेको हो ।

 

कम्पनीको बाँधस्थल (डुबान क्षेत्र) बारेकोट गाउँपालिका वडा नं १, २, ५, ६, ७, ८ र ९ स्थित जग्गाको बिक्री वितरण बढेको हो । नलगाड जलविद्युत्ले विद्युत्गृह निर्माण स्थल र बाँधस्थलको छ हजार रोपनी जग्गा अधिकरण गरी मुआब्जा वितरण गर्न लागेको हो ।

 

कम्पनीले चालू आवमा मुआब्जाका लागि २ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्याएको छ । कम्पनीले यसअघि प्रतिरोपनी चार लाख ७५ हजारका दरले ४०० रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ ।

 

नलगाड जलविद्युत् कम्पनीले अधिकरण गर्न लागेको जग्गाको बिक्री वितरण बढी हुने गरेको छ । डुबान क्षेत्रका जग्गाधनी कम्पनीको मुआब्जा दरभन्दा आधा कम मूल्यमा जग्गा बिक्री गर्ने गरेको पाइएको छ । डुबान क्षेत्रको जग्गा किन्न काठमाडौँ, दाङ, बाँके, सुर्खेतलगायत ठाउँबाट आउने गरेको बारेकोट गाउँपालिका–५ का जयबहादुर खत्रीले बताए ।

 

“कम्पनीले अधिकरण गर्ने भनिएको डुबान क्षेत्रमा जिल्लाभित्र र बाहिरका सयौँले सस्तो मूल्यमा जग्गा किनिसकेका छन्”, उनले भने । बारेकोटको सेपुखोला, अँधेरी खोला, सक्ला, कार्कीजिउला, लिम्सा, गोलखारा, जुगेना, काउलीलगायत ठाउँको जग्गा बिक्री वितरणले चर्चा लिएकोे छ ।

 

कम्पनीको डुबान क्षेत्रमा गत वर्ष १५० जनाले जग्गा किनबेच गरेको मालपोत कार्यालयका प्रमुख अभिबहादुर गिरीले बताए । गत वर्ष उक्त डुबानको जग्गा किनबेचबाट कार्यालयले ६ लाख राजश्व असुलेको उनको भनाइ छ ।

 

डुबान क्षेत्रमा गत साउनमा मात्र ३६ जनाले जग्गा किनबेच गरिसकेको प्रमुख गिरीको भनाइ छ । डुबान क्षेत्रमा दिन प्रतिदिन जग्गा किनबेच बढेको छ ।” मालपोत कार्यालयले गत वर्ष एक हजार ८०० जनाको जग्गा किनबेचबाट ९२ लाख राजश्व असुलेको उनले जानकारी दिए ।

 

कार्यालयका अनुसार जिल्लामा सबैभन्दा कम जग्गा किनबेच गर्ने गाउँपालिका जुनीचाँदे रहेको छ । जग्गा किनबेच कारोवार गर्नेमा पहिला बारेकोट गाउँपालिका, दोस्रो भेरी नगरपालिका र तेस्रो नलगाड नगरपालिका रहेको प्रमुख गिरीले बताउनुभयो । सदरमुकाम खलङ्गामा भने जग्गा किनबेच घटेको पाइएको छ । रासस

सुनको मूल्य बढेको बढ्यै, फेरि बनायो नयाँ रेकर्ड Read Previous

सुनको मूल्य बढेको बढ्यै, फेरि बनायो नयाँ रेकर्ड

राष्ट्र बैंकले ४ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै Read Next

राष्ट्र बैंकले ४ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै