काठमाडौं । साउन लागेदेखि लगातार बढ्न थालेको सुनको मूल्य पछिल्ला दिनहरुमा अस्वभाविक रुपमा बढीरहेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै सबैभन्दा महँगोको रेकर्ड बनाएको छ ।
साताको पहिलो दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ७२ हजार ५ सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ तोकिएको थियो।
सुनको मूल्य एक महिनाको अवधिमा ७ हजार ५ सय रुपैयाँले बढेको छ । साउन ८ गते ६५ हजार रुपैयाँ रहेको सुनको मूल्य भदौ ८ गते आइपुग्दा ७२ हजार ५ सय पुगेको छ ।
पछिल्लो समय सुनको मूल्य बढ्नुमा चीन, इरान लगायत देशहरुसँग अमेरिकी तनाव, विश्वब्यापी रुपमा सुस्ताउदैं गएको अर्थतन्त्र, कमजोर अर्थतन्त्रलाई ऋण दिन घट्दै जान थालेको ब्याजदर, कमजोर अमेरिकी डलर र यस्तो अस्थिर परिस्थितिमा सुन सुरक्षीत लगानीको रुपमा देखापर्नु लगायतका कारण रहेका छन् ।