काठमाडौं । काठमाडौं महानगर हरेक वर्ष फोहर व्यवस्थापनमा चुक्ने गरेको छ । विगतका वर्ष झैँ अहिले पनि काठमाडौं महानगरले फोहर व्यवस्थापन गर्न नसक्दा सडकमा हिँड्न नसक्ने अवस्था सृजना भएको छ ।
खाल्डैखाल्डाको सहर काठमाडौं, जामको सहर, धुलैधुलैको सहर हुँदै यतिबेला काठमाडौंलाई फोहर नै फोहरको सहर भनेर चिनिन थालिएको छ । अझै भनौैं काठमाडौं समस्या नै समस्याले ग्रस्त छ ।
कोभिड १९ सँग जुधिरहेका जनतालाई फोहर संकलन नहँदा भने पछिल्लो समय झन समस्या थपिएको छ । कोभिडको संक्रमणदर वृद्धि भइरहेको अवस्था छ । सरसफाइलाई ध्यान दिनुपर्ने समयमा दैनिक घरबाट निस्किने फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौंका सडकमा हिँड्नै नसक्ने अवस्था सृजना भएको हो ।

लामो समयदेखि फोहर संकलन नभएका कारण आक्रान्त बनेका जनता सडकमा फोहर नफाले महानरपालिकामा लानु त भनेर प्रति प्रश्न गर्छन् । ‘मेयरले सकडमा फोहर नथुपार्न भनेका छन्,घर हुनेले त कतै व्यवस्थापन गर्न सक्लान् हामी जस्ता कोठामा बस्नेले कसरी फोहर व्यवस्थापन गर्नु, सडकमा फोहर नराखेर महानगरमा लग्नु त,’ मध्ये बानेश्वर निवासी कामना अधिकारीले प्रति प्रश्न गरिन् ।
त्यस्तै, बानेश्वकी अर्की स्थानीय सरस्वती तामाङ् कोरोना संक्रमणदर वृद्धि भइरहेको बेलामा लामो समयदेखि फोहर संकलन नभएकाले रोग बढ्ने सम्भावना भएको भन्दै समयमै फोहर संकलन र व्यवस्थापनमा जोड दिन महानरलाई आग्रह गरेकी छिन । ‘१/२ दिन पो हुन्छ त महिनौं फोहर संकलन नहँदा सडकमा हिँड्नै सक्ने अवस्था छैन, निकम्मा महानगर के हेरेर बसेको छ,’ कामपा ३२ जडीबुटी निवासी घनश्याम बस्नेत भन्छन् ।
लामो समयदेखि काठमाडौं महानरले वर्षाको कारण सिसडोल ल्याण्डफिल साइडसम्म जाने बाटो बिग्रिएको भन्दै फोहर संकलनमा तत्परता देखाएको छैन ।समयमै फोहर संकलन नभएपछि काठमाडौंका सडकमा फोहरको डंगुर देखिएको छ । त्यो फोहर कहिले सम्म संकलन गर्ने एकीन जवाफ महानगरसँग छैन ।

के भन्छ काठमाडौं महानगर ?
यता, काठमाडौं महानर प्रमुख विद्यासुन्दर शाक्य फोहर व्यवस्थापनमा समस्या भएको बताउँदै अरू केही समय सडकमा फोहर ननिकाल्न महानगरवासीलाई आग्रह गरेका छन् । महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहर छिट्टै व्यवस्थापन हुने उनले आश्वासन समेत दिएका छन ।
‘बञ्चरे डाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायी रूपमा फोहर व्यवस्थापन गर्न सक्छौँ,’ उनले भने ।

शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो बिग्रिएका कारण नियमित रूपमा फोहर व्यवस्थापनमा कठिनाइ भैरहेको बताए । ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । बाटोकै कारण फोहर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ, ‘त्यही कारण केही दिनदेखि पूर्ण रूपमा फहोर उठाउन नसेकको हौँ । केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहर छुट्याएर सकेसम्म सहरलाई दुर्गन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगवासीलाई अनुरोध गर्न चाहन्छु,’ मेयर शाक्यको आग्रह छ ।
‘बञ्चरेडाँडा ल्याण्डफिल नबन्दासम्म फोहर व्यवस्थापन गर्न गाह्रो छ’
यता वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बञ्चरे डाँडामा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण जति सक्दो छिटो सम्पन्न नहुने हो भने सिसडोलमा फोहर व्यवस्थापन गर्न कठिन हुने बताए छन् । श्रेष्ठका अनुसार गत वर्ष सिसडोलमै फोहर व्यवस्थापन भए पनि यो वर्ष त्यहि ठाउँमा फोहर व्यवस्थापन गर्न कठिन छ ।

‘सामान्य अवस्थामा दैनिक १५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । यही कारण सहरभित्रको नियमित फोहर उठाउन थप समस्या भएको छ । फोहर व्यवस्थापन गर्ने जिम्मेवारीबाट काठमाडौँ महानगपालिका एक रति पनि पछि हटेको छैन,’ श्रेष्ठले भने ।
कामपाले २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागिभन्दै बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म फाहर व्यवस्थापन गदै आएकाले कठिनाइ भएको छ । कामपाले १६ वर्षदेखि ओखरपौवा, आलेटार र सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको छ ।
दैनिक १ हजार ४५ टन फोहर निस्किन्छ

काठमाडौं महानरपालिका वातावरण विभागले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ टन फोहर संकलन हुने गरेको छ । जसमध्ये काठमाडौं महानर क्षेत्रबाट मात्र दैनिक ५१६ टन फोहर संकलन हुने गरेको छ ।
यस्तै, ललितपुर महानगर क्षेत्रबाट १३० टन फोहर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पुर्याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहर सिसडोल ल्याण्डफिल साइटमा पुर्याउने गरिएको छ
