सिसडोल जाने बाटो बिग्रेर फोहर नउठाएका हौं, अब केही दिनमै उठाउँछौं : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहर छिट्टै व्यवस्थापन हुने बताएका छन् ।

 

बञ्चरे डाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् ।

 

‘तपाईँहरु त्यहाँको अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेर फर्किनुभएको छ,’ प्रमुख शाक्यले भने, ‘बञ्चरे डाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सक्छौँ ।’ उनले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो बिग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा कठिनाइ भइरहेको बताए ।

 

‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भने, ‘त्यही कारण केही दिनदेखि पूर्ण रुपमा फहोर उठाउन नसकेका हौँ ।’

 

उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौं बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘वर्षाका कारण बिग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन तथा कुहिने र नकुहिने फोहर छुट्याएर सकेसम्म सहरलाई कम दुर्गन्धित गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगरबासीलाई अनुरोध गर्न चाहन्छु ।

 

प्रमुख शाक्यले फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भइरहेको जानकारी दिएका छन् । ‘हामीले नेपाल सरकारसँग समन्वय गरिरहेका छौँ । मुख्य गरेर हामीले सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सडक विभाग सहकार्य गरिरहेका छौं ।’

सानिमा लाइफको आइपीओ सेयरधनीको खातामा आइपुग्यो, कहिलेदेखि हुन्छ कारोबार ? Read Previous

सानिमा लाइफको आइपीओ सेयरधनीको खातामा आइपुग्यो, कहिलेदेखि हुन्छ कारोबार ?

जनता गरीबीमुक्त बनाउन ‘असमान सम्पत्ति वितरण’ विरुद्ध कठोर बन्दै चीन, निसानामा अर्बपति Read Next

जनता गरीबीमुक्त बनाउन ‘असमान सम्पत्ति वितरण’ विरुद्ध कठोर बन्दै चीन, निसानामा अर्बपति